शरतसिंह भण्डारी : आठौँ जितको खोजीमा ‘सदाबहार’ खेलाडी

धैर्यकान्त दत्त १७ माघ २०८२ २१:२९
22
SHARES
शरतसिंह भण्डारी : आठौँ जितको खोजीमा ‘सदाबहार’ खेलाडी किरण यादव र शरतसिंह भण्डारी।

काठमाडौँ- मधेश प्रदेशभर उल्लेख्य प्रदर्शन गर्न नसकेको तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीका दुई स्थानमा जित निकाल्न सफल भएको थियो।

मधेश आन्दोलनको जगमा उदाएका मधेश केन्द्रित दलहरू ‘एजेन्डा’ गुमाउँदै गएका बेला महोत्तरी क्षेत्र नम्बर २ बाट शरतसिंह भण्डारी र क्षेत्र नम्बर ३ बाट तत्कालीन लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए।

यसपालि महन्थ आफैँ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् भने उनको पार्टी लोसपा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा समाहित भएको छ।

महन्थले आफू निर्वाचित हुँदै आएको महोत्तरी-३ मा छोरी डा. मीनाक्षी ठाकुरलाई उम्मेदवार बनाएका छन्। छोरीलाई उम्मेदवार बनाएपछि जसपा नेपालका नेता हरिनारायण यादवले ‘विद्रोह’ गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन्। हरिनारायणको बागी उम्मेदवारीपछि मीनाक्षीलाई जित निकाल्न त्यति सहज नभएको कांग्रेस कार्यकर्ताहरू बताउँछन्।

पछिल्ला दुई चुनाव लोसपाले जित निकाल्दै आएको अर्को निर्वाचन क्षेत्र हो महोत्तरी-२। संघीयता र गणतन्त्रपछि २०७४ र २०७९ सालमा भएका दुवै निर्वाचन यो क्षेत्रबाट भण्डारीले जितेका हुन्।

२०७४ सालको निर्वाचनमा भण्डारी नेपाली कांग्रेसकी किरण यादवलाई पराजित गरेर प्रतिनिधिसभा पुगेका थिए। उनले कांग्रेस उम्मेदवार किरणलाई दोब्बरभन्दा बढी मतले पराजित गरे। दोस्रो मधेश आन्दोलनलगत्तै भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रतिस्पर्धा गरेका भण्डारीले ३० हजार ७२२ मत ल्याउँदा कांग्रेसकी किरणले १३ हजार ९७४ मत पाएकी थिइन्। त्यस्तै नेकपा माओवादी केन्द्रका कासिम नदाफले ३ हजार ७३२ मत प्राप्त गरेका थिए।

शरत २०७९ सालको प्रतिनिधिसभा चुनावमा फेरि निर्वाचित भए तर उनको कुल मत भने घट्यो। उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका थिए। नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गरेर लडेका भण्डारीले अघिल्लो निर्वाचनमा जम्मा २५ हजार १९० मत पाए।

त्यस्तै तत्कालीन लोसपाबाट अलग भएर गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का डा.विजयकुमार सिंहले ११ हजार १२० मत पाएका थिए।

लोसपाले गठबन्धन गरे पनि त्यो चुनावामा भण्डारीले कांग्रेसको पूरा साथ नपाएको बताइन्छ। त्यो क्षेत्रकी कांग्रेस नेतृ किरण यादवले आफ्नो दलको मत तमलोपा उम्मेदवार डा. सिंहतर्फ ‘डाइभर्ट’ गर्न लगाएकी थिइन्। कांग्रेसको मत ‘डाइभर्ट’ भएकै कारण संगठन नै नभएको तमलोपा उम्मेदवार सिंहले ११ हजारबढी मत पाउँदा भण्डारीको मत घटेको थियो।

फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकी तिनै किरण महोत्तरी-२ का ‘सदाबहार’ उम्मेदवार भण्डारीलाई ‘टक्कर’ दिन मैदानमा उत्रिएकी छन्। गठबन्धनविनै चुनावमा होमिएको कांग्रेसले महोत्तरी-२ मा किरणलाई उम्मेदवार बनाएको छ।

अघिल्लो निर्वाचनमा गठबन्धनको उम्मेदवार भण्डारीले पाएको कांग्रेस मत रोक्नुका साथै तमलोपाका सिंहतर्फ ‘डाइभर्ट’ भएका मत आफ्नोतर्फ तान्न कांग्रेस उम्मेदवार किरणलाई चुनौती देखिएको छ। यी दुवै मत रोकेर आफ्नोतर्फ ल्याउनसके महोत्तरी–२ मा कांग्रेस उम्मेदवार निर्वाचित हुने तर्क कांग्रेसका स्थानीय नेताहरूको छ।

‘अघिल्लोपटक गठबन्धनका कारण कांग्रेसले चुनाव लड्न पाएन। पार्टी निर्देशनअनुसार धेरैजसो मत गठबन्धनको उम्मेदवारले नै पाउनुभयो,’ महोत्तरी-२ का एक नेताले भने, ‘कतिपय मत गठबन्धनबाहेकका उम्मेदवारतर्फ गयो। यसपालि त्यो दुवै मत आफ्नोतर्फ ल्याउनुपर्ने चुनौति छ।’

ती नेताका अनुसार यसपालि महोत्तरी-२ मा कांग्रेस एकढिक्का र बलियो देखिएको छ। ‘पार्टी नेतृत्व फेरिएपछि नयाँ ऊर्जाका साथ हामी काम गरिरहेका छौँ, सबै एकढिक्का छौँ,’ उनले भने, ‘अन्य चुनाव जस्तो यसपालि अन्तरघात हुने सम्भावना न्यून छ। एकजुट भएकाले राम्रै नतिजा आउनेमा हामी ढुक्क छौँ।’

कांग्रेसका ती नेताले जित निकाल्ने दाबी गरिरहे पनि महोत्तरी-२ भण्डारीको ‘उर्वर’ क्षेत्र हो। यसपालि जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिस्पर्धा गरिरहेका उनले आफ्नो पुराना दल लोसपाका साथै जसपा नेपाल र तमलोपाको मत समेत पाउनेछन्। त्यसैले भण्डारीनिकट नेता तथा कार्यकर्ताहरू अघिल्लोपटक जस्तै जित दोहोराउने दाबी गर्छन्। मतान्तर थोरै भए पनि महोत्तरी–२ मा भण्डारी नै जित्ने उनीहरूको भनाइ छ।

‘यो क्षेत्रमा अन्य पार्टीका उम्मेदवारहरूको खासै प्रभाव देखिएको छैन, प्रतिस्पर्धा भनेको कांग्रेससँगै हुने हो,’ भण्डारीनिकट एक नेताले भने,‘मतान्तर थोरै होला, तर, जित भने हाम्रै हुन्छ।’

आठौँपटक संसद् पुग्ने कसरत

यसपालि पनि चुनाव जितेर भण्डारी आठौँपटक संसद्सम्मको यात्रा तय गर्ने लक्ष्य लिएका छन्। मुलुक पञ्चायतदेखि गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा १० औँ पटक चुनाव लडिरहेका उनले दुईपटकमात्रै हार बेहोर्नुपरेको छ।

२०३६ सालमा बहुदलका पक्षमा आन्दोलन गरेका भण्डारीले पहिलोपटक २०३८ सालमा राष्ट्रिय पञ्चायतको चुनाव लडे र चुनाव जिते। त्यसको पाँच वर्षपछि २०४२ सालमा भएको राष्ट्रिय पञ्चायतको चुनाव उनले महोत्तरीबाटै लडे। त्यो चुनावमा पनि भण्डारीले जित हासिल गरे।

त्यो बेला मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारमा उनी पहिलोपटक स्थानीय विकास सहायकमन्त्री बने। एक वर्ष नबित्दै श्रेष्ठ नेतृत्वकै सरकारमा भण्डारी २०४३ सालमा वाणिज्य राज्यमन्त्री बने।

तीन वर्षपछि २०४६ सालमा प्रजातन्त्र पुनः स्थापनाको माग गर्दै पञ्चायत सत्ताविरुद्ध आन्दोलन सुरु भयो। आन्दोलनको सफलतापछि एकदलीय व्यवस्था अन्त्य भएर बहुदलीय व्यवस्था स्थापित भयो।

राजनीतिक दलहरू खुला प्रतिस्पर्धामा उत्रिए। त्यही बेला स्थापना भएको थियो राष्ट्रिय प्रजातन्त्र पार्टी। संस्थापक थिए, ‘पूर्वपञ्चहरू’।

पहिलो जनआन्दोलनको सफलतापछि २०४८ सालमा भएको आमनिर्वाचनमा भण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तत्कालीन महोत्तरी–५ मा चुनाव लडे।

त्यसअघि सिंगो जिल्लामै चुनाव हुँदै आएकोमा प्रजातन्त्र पुनर्बहालीपछि निर्वाचन क्षेत्र बाँडिएको थियो। त्यो निर्वाचनमा भण्डारीले हार बेहोर्नुपर्‍यो। संसद्सम्म पुग्ने उनको चाहना पूरा हुन सकेन। त्यो बेला उनले ९ हजार ४५९ मत ल्याएका थिए।

निर्वाचनपछि नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला नेतृत्वमा कांग्रेसको एकमना सरकार बन्यो। यद्यपि कांग्रेसको खिचातानीले सरकार पाँच वर्ष टिक्न सकेन। मध्यावधि निर्वाचनको घोषणा भयो।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा भण्डारी तत्कालीन महोत्तरी-४ बाट स्वतन्त्र हैसियतमा चुनाव लडे। ११ हजार ३९५ मत ल्याएर उनी निर्वाचित भए। स्वतन्त्र भएर चुनाव जितेका उनी त्यही बेला कांग्रेस प्रवेश गरेका थिए। कांग्रेस प्रवेशपछि उनी तत्कालीन अध्यक्ष कृष्णप्रसाद भट्टराई निकट बन्न पुगे। भण्डारी आफूलाई अहिले पनि राजनीतिमा भट्टराईको अनुयायी भन्न रुचाउँछन्।

मध्यावधि चुनावपछि एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वमा बनेको सरकार ९ महिनापछि ढल्यो। फेरि कांग्रेसकै सरकार बन्यो। प्रधानमन्त्री भए शेरबहादुर देउवा। देउवाको त्यही कार्यकालमा भण्डारी युवा तथा खेलकुदमन्त्री बनेका थिए।

२०५६ सालमा भएको आमनिर्वाचनमा कांग्रेसबाट महोत्तरी–३ मा चुनाव लडेका भण्डारी २० हजार ४८६ मत ल्याएर निर्वाचित  भए। चुनावपछि फेरि कांग्रेसकै नेतृत्वमा सरकार बन्यो। प्रधानमन्त्री थिए कृष्णप्रसाद भट्टराई। सरकारमा उनी स्वास्थ्यमन्त्री बने।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनअघि भण्डारी कांग्रेस छोडेर मधेश केन्द्रित राजनीतिमा होमिए। त्यहीबेला उपेन्द्र यादवको नेतृत्वमा मधेशी जनअधिकार फोरम गठन भएको थियो। पहिलो संविधानसभाको निर्वाचनमा भण्डारी  तत्कालीन महोत्तरी–६ बाट चुनाव लडेका थिए। त्योबेला १२ हजार १९४ मत ल्याएर उनी निर्वाचित भए।

२०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका भण्डारी बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री भए। त्यतिबेला तराई मधेशका युवालाई नेपाली सेनामा सामूहिक प्रवेश नदिइए ‘तराई टुक्रिनसक्ने’ विवादित अभिव्यक्ति दिएपछि उनलाई राजीनामा दिनुपरेको थियो।

रक्षामन्त्रीबाट राजीनामा दिएपछि उनले आफ्नै नेतृत्वमा राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) गठन गरे। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनले आफ्नै नेतृत्वको रामसपाबाट महोत्तरी क्षेत्र नम्बर १ र ६ बाट चुनाव लडे। उनलाई हार बेहोर्नुपर्‍यो। चुनावमा भण्डारीको यो दोस्रो पराजय थियो।

२०७४ सालमा भएको आमनिर्वाचनमा उनी राष्ट्रिय जनता पार्टी (राजपा) र २०७९ सालमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित भए। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री भए। यसपालि जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट चुनाव लडेर भण्डारी फेरि संसदसम्म पुग्ने कसरत गरिरहेका छन्।

प्रकाशित: १७ माघ २०८२ २१:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast