सर्लाही-२ : चौथोपटक जित्ने दाउमा महिन्द्र, दोहोरिने रणनीतिमा राजेन्द्र

धैर्यकान्त दत्त १४ माघ २०८२ २१:२७
12
SHARES
सर्लाही-२ : चौथोपटक जित्ने दाउमा महिन्द्र, दोहोरिने रणनीतिमा राजेन्द्र

काठमाडौँ- दुई वर्षअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर आफ्नै नेतृत्वमा राष्ट्रियमुक्ति पार्टी गठन गरेका राजेन्द्र महतो प्रतिनिधिसभा नछिरेको चार वर्ष भयो।
अन्तिमपटक उनी २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। मधेश आन्दोलनको रापतापलगत्तै भएको त्यो निर्वाचनमा उनी धनुषा-३ बाट लडेका थिए।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि निर्वाचित हुँदै आएको धनुषा-३ मा महतोलाई त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘अदृश्य’ सहयोग थियो। निर्वाचनमा धनुषा-३ मा एमालेले उम्मेदवारी दिएको थिएन। वाम गठबन्धनका तर्फबाट चुनाव लडेका माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादवले झिनो मतमात्रै पाए।

२०७४ सालको निर्वाचनमा आफ्नो पुरानो क्षेत्र सर्लाही छोडेर धनुषा पुगेका महतो त्यहाँ दोहोर्‍याएर जान सुरक्षित ठानेन्। किनभने धनुषा-३ मा नेकपा एमालेले पार्टी सचिव रघुवीर महासेठकी पत्नी जुली महतोलाई उम्मेदवार बनाउँदै आएको छ।

जुली आफैँ उम्मेदवार हुने भएपछि २०७९ सालको निर्वाचन महतो आफ्नो पुरानो निर्वाचन क्षेत्र सर्लाही-२ बाट लड्न बाध्य भए। निर्वाचनमा महतोलाई टक्कर दिएका थिए उनका पुराना सहकर्मी महिन्द्रराय यादवले। तत्कालीन नेपाल समाजवादी पार्टी (नेसपा) मा रहेका महिन्द्र तत्कालीन माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए।

२०७९ मा सुरक्षित क्षेत्र ठानेर गृहजिल्ला सर्लाही-२ पुगेका महतो अन्ततः महिन्द्रसँग पराजित भए। महिन्द्रले २३ हजार ५२९ मत ल्याउँदा लोसपाका महतोले २१ हजार ५१८ मत प्राप्त गरे। कांग्रेस र माओवादीसँग गठबन्धन गरे पनि भागबन्डामा सर्लाही-२ लोसपाको भागमा परेन। आफ्नो भागमा परेको त्यो सिट माओवादी केन्द्रले नेसपालाई दिएको थियो।

२०७९ सालको निर्वाचनमा महेन्द्रसँग पराजित महतो यसपालि फेरि आफ्ना तिनै पुराना सहकर्मीसँग प्रतिस्पर्धा गरिरहेका छन्। फरक के छ भने अघिल्लोपटक कांग्रेससँग गठबन्धन गरेर मैदानमा उत्रिएका महिन्द्र यसपालि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार बनेका छन्।

कांग्रेसका साथै अन्य दलहरूले फागुन २१ गते हुने निर्वाचनका लागि हालसम्म गठबन्धन गरेका छैनन्। सर्लाही-२ मा कांग्रेसले डा.सरोज कुमारलाई उम्मेदवार बनाएको छ। एमालेले नागेश्वर साह, जनता समाजवादी पार्टी नेपालले भरत चौधरीलाई उम्मेदवार बनाएको छ।

अघिल्लोपटक कांग्रेससँग गठबन्धन गरेर चुनाव जितेका महिन्द्र एक्लै चुनावी मैदानमा होमिनुपरेको छ। सर्लाही-२ लाई चुनावी क्षेत्र बनाउँदै आएका दुवै नेताबीचको प्रतिस्पर्धा फागुन २१ को निर्वाचनमा रोचक हुने अनुमान गरिएको छ।

नौ वर्षपछि २०७९ सालको निर्वाचनमा आमनेसामने हुँदा महिन्द्रले बाजी मारेका थिए। मुलुकको राजनीतिक परिस्थिति फेरिँदा तीन वर्षकै अन्तरालमा उनीहरू फेरि एकपटक चुनावी मैदानमा उत्रिएका हुन्।

यस्तो छ पृष्ठभूमि

महिन्द्र र महतो दुवैले आफ्नो राजनीति सर्लाहीबाट अगाडि बढाउँदै आएका छन्। रोचक त के छ भने दुवै नेता एउटै वर्ष चुनावमा उत्रिएका व्यक्ति हुन्। महिन्द्र पहिलोपटक २०४८ सालमा नेकपा (मानन्धर) भन्ने पार्टीबाट सर्लाही-१ मा चुनाव लडेका थिए। त्यति बेला उनी पराजित भएका थिए।

त्यसपछि २०५१ र २०५६ मा एमालेबाट चुनाव लडेर उनी सर्लाही-१ बाट निर्वाचित भएर प्रतिनिधिसभासम्म पुगे। २०६२/६३ को दोस्रो जनआन्दोलनपछि एमाले छाडेर महिन्द्र मधेस केन्द्रित राजनीतिमा होमिए। त्यही बेला कांग्रेस छाडेर महन्थ ठाकुरले आफ्नो नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेका थिए।

तमलोपाका संस्थापकमध्येका एक रहेका महिन्द्र २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका थिए।
महतो पनि २०४८ सालमै नेपाल सदभावना पार्टीबाट सर्लाही-२ मा चुनाव लडे। उनी पनि पराजित भए।

२०५१ सालमा पनि त्यही क्षेत्रबाट चुनाव लडेर पराजित भएका उनले २०५६ मा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई पराजित गरेर संसद्को यात्रा थालेका हुन्।

२०६४ मा उनी नेपाल सदभावना पार्टी फुटेर बनेको सदभावना पार्टीबाट चुनाव लडेका थिए। त्यस बेला निर्वाचन क्षेत्र परिवर्तन गरेर महतोले सर्लाही-४ बाट जित हात पारे।
सर्लाहीलाई केन्द्रमा राखेर राजनीति गर्दै आइरहेको यी दुई नेताबीच २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही-२ मै प्रतिस्पर्धा भएको थियो।

त्यस बेला तमलोपाबाट अलग भएर आफ्नै नेतृत्वमा गठन गरेको तराई मधेश सदभावना पार्टी (तमसपा) बाट चुनाव लडेका महिन्द्रले सदभावना पार्टीका अध्यक्ष रहेका महतोलाई पराजित गरे। महतोलाई उनले दुई हजार ७४४ मतले पराजित गरेका थिए।

२०७४ को प्रतिनिधिसभा निर्वाचनअघि ६ वटा मधेश केन्द्रित दलहरू एकीकरण भएर राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो।

दुवै नेता राजपामै सामेल भएपछि त्यो निर्वाचन महिन्द्र सर्लाही-२ बाट लडे भने महतो धनुषा-३ मा गएका थिए।

महिन्द्रले सर्लाही-२ मा कांग्रेसका जंगीलाल राय र महतोले धनुषा-३ मा निधिलाई पराजित गरेका थिए। नौ वर्षपछि फेरि दुवै नेता एकअर्काको प्रतिस्पर्धी बनेर २०७९ को निर्वाचनमा सर्लाही-२ बाटै चुनावी मैदानमा उत्रिएका थिए।

स्थानीय तहमा कांग्रेसको पल्लाभारी

सर्लाही क्षेत्र नम्बर २ मा ५ पालिका र २ पालिकाका केही वडा समावेश छन्। यस क्षेत्रमा सदरमुकाम मलंगवा नगरपालिकासहित पर्सा गाउँपालिका, हरिपुर्वा नगरपालिका, ब्रह्मपुरी गाउँपालिका र कौडेना गाउँपालिका पर्दछ। त्यस्तै कविलासी नगरपालिकाको वडा नम्बर ८-१०, विष्णु गाउँपालिकाको वडा नम्बर ५-८ र ईश्वरपुर नगरपालिकाको वडा नम्बर १५ समेटिएका छन्।

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ मा समावेश सबै स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षहरू कांग्रेसका निर्वाचित भएका छन्। ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसकै अध्यक्ष- उपाध्यक्षका साथै सातवटै वडामा कांग्रेसका वडा अध्यक्षहरू निर्वाचित भएका छन्। स्थानीय तह निर्वाचनको आँकडा हेर्दा यस क्षेत्रमा कांग्रेसमा बलियो पकड देखिएको छ। प्रदेश सरकारमा हाल मन्त्री रहेका कांग्रेस नेता जंगीलाल राय पनि यही प्रतिनिधिसभा निर्वाचन क्षेत्रका हुन्।

कांग्रेसको पकड क्षेत्रका रूपमा हेरिएको सर्लाही-२ बाट महिन्द्र फागुन २१ को निर्वाचनबाट चौथो जित निकाल्ने दाउमा छन् भने महतो दोस्रो जितको खोजीमा देखिएका छन्।

प्रकाशित: १४ माघ २०८२ २१:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast