भक्तपुर- भक्तपुरका बौद्ध धर्मालम्बीले दानमध्येको महादान ‘सम्यक दान पर्व’ मनाउँदैछन्। बौद्ध धर्मावलम्बीहरुले नेपाल संवत् ७८७ भन्दाअघिबाट प्रत्येक वर्ष माघ १ गते सो पर्व मनाउँदै आएका जनाइएको छ।
सम्यक महादान व्यवस्थापन सहयोग समितिद्वारा संयोजित पर्वमा करिब दुई हजार भिक्षुलाई महादन गर्ने लक्ष्य रहेको छ। समितिका अध्यक्ष गणेश बज्राचार्यले पाँच दीपकङ्र बुद्धका मूर्तिहरुलाई भक्तपुर परिक्रमा गराएर भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा मध्यान्हमा ल्याएर बौद्ध परम्पराअनुसार सम्यक महादान पर्व मनाइने जानकारी दिए।
पाँच दीपकङ्र बुद्धका मूर्तिहरुलाई स्थानीय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुहरुलाई प्रसाद, चामललगायत विभिन्न परिकारहरु दान दिने र पाँच दीपंकरको परिक्रमा गराई पूजासमेत दिने परम्परा रहको छ।
भक्तपुर दरबार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल संवत् ७८७ मा आफ्ना दिवङ्गत पिता जयदेव बज्राचार्यको नाममा दीपंकर बुद्धलगायत विभिन्न विहारका संघ सदस्यहरुलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको शिलापत्रमा उल्लेख रहेको देवचन्द्र बज्राचार्यले जानकारी दिए।
सम्यक महादान पर्वमा गेँडागुडीका परिकारहरुमध्ये गोमाय, बालामाय, ह्याउमाय्, गोमू, कसु, तुइमुस्या, मस्याचा, जरिग्व, कोल, भूतिका परिकार बनाएर चढाउने गरिन्छ। सागसब्जीका परिकारहरुमध्ये इँकचा, मिच, म्हुक, चिम्हुकं, वाकंचा, सकिमुग, स्वांचा, कलांचा, आमली, कछें, कच, सिमल, पाछैचा, मिचका परिवार तथा मठाईहरुमा लड्डु, पुरी, घ्योचाक, पञ्चपकुवान, चतामरी, माय् वका परिकारहरु बनाएर चढाउने गरिन्छ।
विहारमा चढाउने सम्पूर्ण सामग्रीहरुको तयारी गरिसकेको छ। जयकीर्ति महाविहार अत्यन्तै जीर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाटै नेपाल संवत् ७९४ मा उक्त विहारको जीर्णोद्धार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको इतिहास उल्लेख गरेको समितिका सचिव राजुमान बज्राचार्यले जानकारी दिए।
सम्यक दानमा परम्परागत रूपमा स्थापना भएका बौद्ध विहारहरुमा दिक्षित भई गृहस्थ बौद्ध भिक्षु शाक्य र बज्राचार्य बन्दहरुलाई भोजन, अन्न दक्षिणा दिइने प्रचलन रहेको उनले बताए।
आज सम्यक दान पर्व मनाउने पालो चिनियाकाजी बज्राचार्य परिवारको रहेकाले जयकीर्ति महाविहारमा एक साताअघिदेखि नै बसोबास गरी पर्वको लागि आवश्यक पर्ने विशेष प्रकारको पुरी, लड्डुलगायतका अन्य सामग्रीहरुको व्यवस्थापन गर्न आफ्नो परिवारसहित समितिका टोली एक सतादेखि व्यस्त रहेको उनले जानकारी दिए।
यस वर्ष पर्व अवलोकन गर्नेलगायत सम्यक दान लिने बौद्ध धर्मावलम्बीहरु अघिल्लो वर्षहरुमा भन्दा बढी हुने अनुमान गर्दै सोहीअनुरुप दानका सामग्रीहरु तयारी भइसकेको चिनियाकाजीले जानकारी दिए। सम्यक महादानका क्रममा जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा चतुब्र्रम्ह महाविहार संघका कुलदेवता हेबज नैरात्मालाई सबभन्दा पहिले भोजन दान दिने परम्परा छ। त्यसपछि लहरै मूल दीपंकर, बाहाछे दीपंकर, भौरबही दीपंकर, ययुबही दीपंकर र कुथुबहि दीपंकरलाई भोजन चढाउने गरिन्छ।
यसैगरी क्रमबद्ध रुपमा विराजमान गराइएका चार वटा सम्यक द्यो (सुवर्ण दीपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु र लामबद्ध भएर बसेका सयौँ बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई सम्यक दान दिने परम्परा रहँदै आएको बौद्ध सम्पदा सङ्घका महेन्द्र शाक्यले जानकारी दिए। रासस
प्रकाशित: १ माघ २०८२ ८:३४
प्रतिक्रिया



