काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक मंगलबार बस्दैछ। आज दिउँसो २ बजे बस्ने बैठकमा १० वटा कार्यसूची तय गरिएको छ।
आजको बैठकमा छलफलको लागि प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति तय गरिने प्रवक्ता मनिष झाले बताए। रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवारका आकांक्षीहरूको नाम मागेको छ। त्यसैका लागि आवेदन दिने सीमा तोक्न लागेको हो।
यस्तै उम्मेदवार सिफारिस उपसमिति र पार्टी समायोजन उपसमिति विस्तार गर्ने कार्यसूची रहेको प्रवक्ता झाले बताए। उम्मेदवार सिफारिस उपसमिति संयोजक डा। स्वर्णिम वाग्ले छन्। पार्टी समायोजन उपसमिति संयोजक महामन्त्री कविन्द्र बुर्लाकोटी छन्।
आजको बैठकले केन्द्रीय समिति विस्तार गर्ने कार्यसूची तय गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समूहबाट आएका २६ जना मनोनीत गरेको थियो। त्यस्तै विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई पनि केन्द्रीय समितिमा मनोनीत गरेको थियो।
यसका अतिरिक्त आजको बैठकमा निर्वाचन परिचालन समिति गठन गर्ने, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि बनाउनेबारे निर्णय हुनेछ।
निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम, स्थानीय तह उम्मेदवार क्लब गठन गर्नेबारे पनि छलफल हुने प्रवक्ता झाले बताए।



