रास्वपा चुनाव जित्ने हैसियतमा छैन, एमालेको प्रतिस्पर्धा कांग्रेससँगै : महासचिव पोखरेल

हिमाल प्रेस १६ माघ २०८२ १४:०६
10
SHARES
रास्वपा चुनाव जित्ने हैसियतमा छैन, एमालेको प्रतिस्पर्धा कांग्रेससँगै : महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा नेपाली कांग्रेस नै एमालेको मुख्य प्रतिस्पर्धी शक्ति रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एमालेको प्रत्यक्ष प्रतिस्पर्धा नरहेको उनको दाबी छ।

शुक्रबार प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले कांग्रेस देशको पुरानो र संगठित पार्टी भएकाले अहिले पनि चुनावी प्रतिस्पर्धा कांग्रेससँग नै हुने बताएका हुन्।

काठमाडौँ उपत्यकामा समेत रास्वपा प्रतिस्पर्धामा नरहेको विश्लेषण सार्वजनिक भइरहेको उल्लेख गर्दै उनले रास्वपाको प्रभाव चुनाव जित्ने तहसम्म नपुगेको बताए।

‘रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा केही बढेको देखिन्छ तर त्यो चुनाव जित्ने स्तरको होइन,’ पोखरेलले भने, ‘त्यसैले एमालेसँग मुख्य प्रतिस्पर्धा कांग्रेसकै छ।’

महासचिव पोखरेलले रास्वपाले समानुपातिकतर्फ भने केही मत बढाउन सक्ने विश्लेषण पनि सुनाए। अघिल्लो निर्वाचनमा सहरी क्षेत्रको समानुपातिक मत रास्वपाले बढी पाएको भए पनि यसपटक त्यो घट्ने संकेत देखिएको उनले बताए। यद्यपि प्रत्येक जिल्लामा केही न केही मत ल्याउने भएकाले ग्रामिण क्षेत्रमा रास्वपाको समानुपातिक मत बढ्न सक्ने आँकलन रहेको उनको भनाइ थियो।

महासचिव पोखरेलले जेनजी आन्दोलनपछि नेपालमा विदेशी शक्तिको प्रभावमा सरकार निर्माण भएको टिप्पणी गरे। उनले चुनावपछि ‘जेलेन्स्की सरकार’ जन्माउने प्रयास भइरहेको आरोप लगाउँदै संविधान घायल, लोकतन्त्र कमजोर र नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने षड्यन्त्र भइरहेको दाबी गरे।

‘अहिले विदेशीको कठपुतली सरकार बनेको छ, भविष्यमा पनि त्यसलाई निरन्तरता दिन जेलेन्स्की जन्माउने योजनासहित अभियान चलाइएको छ,’ उनले भने।

पोखरेलले विदेशी षड्यन्त्र सफल हुन नदिने गरी एमाले अघि बढिरहेको दाबी गर्दै चीन र भारतविरुद्ध शक्ति राष्ट्रहरूले नेपाली भूमिलाई चलखेलको अखडा बनाउन नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १६ माघ २०८२ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast