जेनजीको माग पूरा गर्ने पार्टी राप्रपामात्रै हो : कमल थापा

हिमाल प्रेस १० माघ २०८२ १७:४३ | Saturday, January 24, 2026
22
SHARES
जेनजीको माग पूरा गर्ने पार्टी राप्रपामात्रै हो : कमल थापा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले जेनजी युवाहरुको माग पूरा गर्ने पार्टी राप्रपामात्रै भएको बताएका छन्।

शनिबार राप्रपा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ को भेलालाई सम्बोधन गर्दै थापाले युवाहरुले अघि सारेको सुशासन र भ्रष्ट व्यवस्थाको अन्त्यको मुद्दा राप्रपाको समेत मुद्दा भएकाले यसलाई आफ्नो पाटीले मात्रै पुरा गर्न सक्ने बताएका हुन्।

भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको निमित्त आवाज उठाउँदै जेनजीहरुले गरेको आन्दोलन चौबिस घण्टा बित्दा नबित्दै हाइज्याक गरेर तुहाउने काम भएको उनले बताए। नेता थापाले अहिले जेनजी युवाहरूबाट मुखरित भएको माग अधुरो रहेकाले अधुरो मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा रहेको धारणा राखे।

उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको चाहना राख्ने हो भने सबैभन्दा पहिला भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाका विकृति र विसङ्गतिहरूको अन्त्य हुनुपर्ने जिकिर गरे। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकका मूल संवाहक कांग्रेस र कम्युनिस्ट नै भएको उनको आरोप छ।

अहिले कांग्रेस र कम्युनिस्टले अपवित्र गठबन्धन बनाएर कायम गरेको सिन्डीकेटको पनि जनताले अन्त्य खोजेको थापाले बताए। थापाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ ५ बाट उम्मेदवारी दिएका छन्।

प्रकाशित: १० माघ २०८२ १७:४३ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast