खगेन्द्र सुनारको गाईबारेको अभिव्यक्तिलाई लिएर रास्वपाले माग्यो क्षमा

हिमाल प्रेस १७ माघ २०८२ ६:३८ | Saturday, January 31, 2026
22
SHARES
खगेन्द्र सुनारको गाईबारेको अभिव्यक्तिलाई लिएर रास्वपाले माग्यो क्षमा

काठमाडौँ- बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका खगेन्द्र सुनारको विवादित अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सुनारले राष्ट्रिय जनावर गाईको विषयमा दिएको अभिव्यक्ति विवादित बनेपछि रास्वपाले ध्यानाकर्षण भएको जनाएको हो।

शुक्रबार महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै रास्वपामा जोडिनु अगाडि सुनारले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना मागिसकिएको बताए ।

‘उहाँले सार्वजनिक रूपमै आफू “शाकाहारी भएको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको प्रष्ट पारिसक्नुभएको छ । सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरूलाई तोडमोड गरी प्रचार समेत गरिएको भए तापनि, त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उहाँले क्षमायाचना गर्दै आत्मालोचना समेत गर्नुभएको छ,विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीले उम्मेदवार सुनारलाई सो सम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको महामन्त्री बुर्लाकोटीले बताए।

सुनारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त रहेको समेत बुर्लाकोटीले बताए।

रास्वपाको विधान र प्रस्तावनाले नेपालको इतिहास, सनातन सभ्यता, तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सह–अस्तित्व र पारस्परिक सम्मान लाई आफ्नो मूल मर्म मानेको भन्दै बुर्लाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,ुहामी नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सधैँ कटिबद्ध छौँ ।ु

रास्वपा कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सद्भाव बिगार्ने तत्त्वहरूको पक्षमा नरहेको समेत विज्ञप्तिमा मार्फत प्रष्ट पारिएको छ ।

रास्वपाका उम्मेदवारहरू केवल चुनाव जित्नका लागि मात्र नभई भोलिको संसद्मा संयमित, मर्यादित र देशको विधि–विधानलाई सम्मान गर्ने नेतृत्वका रूपमा उभिनेछन् भन्नेमा विश्वस्त रहेको उनले बताए ।

रास्वपा सधैँ विधिको शासन, सामाजिक न्याय, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा अडिग रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित: १७ माघ २०८२ ६:३८ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast