‘रमिताको पिरती’ महिलाको कथामा बनेको छ : आना शर्मा

हिमाल प्रेस १५ माघ २०८२ ११:२७
10
SHARES
‘रमिताको पिरती’ महिलाको कथामा बनेको छ : आना शर्मा

काठमाडौँ- यही माघ २३ देखि फिल्म ‘रमिताको पिरती’ हलमा लाग्दैछ। साचो पिरतीको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतारचढाव फिल्ममा प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ।

रमिताको भूमिका अभिनेत्री आना शर्माले अभिनय गरेकी छन्। उनीसँगै मुख्य भूमिकामा धीरज मगर र विनय श्रेष्ठको अभिनय छ। यसै फिल्ममार्फत गायक समीर श्रेष्ठले पनि अभिनय यात्राको सुरु गरेका छन्। यी तीनकै सेरोफेरोमा फिल्म घुमेको छ।

फिल्ममा आना अभिनेत्री मात्र नभई कार्यकारी निर्माताको भूमिकामा पनि छिन्। महिला केन्द्रित फिल्ममा पहिलोपटक देखिएकी आनाले फिल्ममा ब्रेकअपपछि आफूलाई चिन्ने, स्वीकार्ने र रोज्ने एउटा भावनात्मक यात्राको कथा रहेको बताइन्।

फिल्म ब्रेकअपबाट सुरु भए पनि यो ब्रेकअपको कथा मात्र नभई, त्यसपछिको आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा हो,’ अभिनेत्री शर्माले भनिन्, ‘रमिता पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढाइएको छ। नियमित फिल्मभन्दा केही फरक कथा तयार गर्ने कोसिस गरेका छौँ।’

रमिता पात्रको लागि आफूले निर्देशक सुदिप्ताको साथ लिएको उनले सुनाइन्। ‘मैले छ महिना निर्देशकसँग बसेर उक्त पात्रलाई डेभलप गरे। अहिले फिल्म प्रदर्शन हुने बेला आउँदा उत्साहित छु। यो फिल्म, पात्र र भूमिका निकै खास छ, आश छ हामीले देखाएको स्टोरी पर्दामार्फत दर्शकसम्म पुग्ने छ’, उनले भनिन्।

आनाले ‘रमिताको पिरती’ तीन कारणले आफ्नो लागि विशेष रहेको खुलाइन्। पहिलो पूर्ण रूपमा महिलाको कथामा बन्नु, दोस्रो महिला निर्देशकद्वारा लेखिएको र निर्देशित फिल्म र तेस्रो आफू पहिलोपटक कार्यकारी निर्माताको भूमिकामा काम गर्न पाउनु।

निर्देशक र निर्माता सागर लम्सालसँग काम गरेसँगै आफू कार्यकारी निर्माताको भूमिकामा जोडिएको बताइन्। ‘निर्माता सागरजीले म माथि विश्वास गरेर एक्जिक्युटिभ प्रोड्युसरको जिम्मेवारी दिनुभयो, जुन मेरो लागि सिकाइको ठूलो अवसर बन्यो’, उनले भनिन्।

उक्त भूमिकाले आफूलाई नयाँ किसिमको चाँप र रचनात्मक स्वतन्त्रता दुवै दिएको आनाको बुझाई छ। उनले भनिन् ‘जिम्मेवारी धेरै हुन्छ, तर क्रिएटिभ फ्रिडम पनि उत्तिकै रमाइलो रहेछ।’

फिल्मले विशेषगरी युवापुस्तालाई लक्षित गर्दै महत्वपूर्ण सन्देश दिने शर्माको विश्वास छ। ‘पहिला आफूलाई माया गर्नुपर्छ, आफूलाई केयर गर्नुपर्छ, अनि मात्र अरूलाई माया दिन सकिन्छ भन्ने सन्देश फिल्मले दिन्छ’, उनले भनिन्।

सोसल मिडियाको प्रभावले व्यक्तिकाे मानसिक अवस्थामा पार्ने असरलाई पनि फिल्मले चित्रण गर्ने उनको भनाई छ। उनकाअनुसार रमिताको पात्र पनि एक चरणमा अरूको स्वीकृतिमा निर्भर हुने देखाइन्छ, जुन आजको पुस्तासँग गहिरो रूपमा सम्बन्धित छ।

प्रकाशित: १५ माघ २०८२ ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast