लोकसेवा आयोगद्वारा पाँचौँ तहका विभिन्न पदमा विज्ञापन खुला

हिमाल प्रेस २५ पुष २०८२ ७:०६
8
SHARES
लोकसेवा आयोगद्वारा पाँचौँ तहका विभिन्न पदमा विज्ञापन खुला

काठमाडौँ- लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवातर्फ सहायक स्तर पाँचौँ तहका (प्राविधिक तथा अप्राविधिक) विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।

आयोगले सूचना नं. १७२/०८२–०८३ अनुसार प्रदेश निजामती सेवा ऐन, २०८० तथा स्थानीय निजामती सेवा ऐन, २०८१ बमोजिम प्रदेश सरकारका विभिन्न मन्त्रालय र स्थानीय तहहरूमा आवश्यक जनशक्ति पूर्तिका लागि अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत पदपूर्ति गर्न लागेको हो। उक्त विज्ञापन आज प्रकाशित गरिएको हो।

विज्ञापनअनुसार सेवा, समूह र उपसमूहअन्तर्गत सहायक स्तर पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदहरूमा तोकिएको योग्यता पुगेका उम्मेदवारबाट विद्युतीय (अनलाइन) माध्यममार्फत दरखास्त आह्वान गरिएको छ। इच्छुक उम्मेदवारहरूले आयोगको विद्युतीय दरखास्त प्रणाली www.ppsconline.lumbini.gov.np
मार्फत आवेदन दिनुपर्नेछ।

प्रदेश निजामती सेवा तथा स्थानीय निजामती सेवा (प्राविधिक) तर्फका अन्तर तह र समावेशी प्रतियोगितात्मक परीक्षाहरू एकीकृत रूपमा एकै पटक सञ्चालन गरिने आयोगले जनाएको छ। प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूलाई प्राथमिकता क्रमअनुसार सम्बन्धित प्रदेश तथा स्थानीय तहका निकायमा नियुक्तिका लागि सिफारिस गरिनेछ।

लिखित परीक्षाको माध्यम भाषा नेपाली, अंग्रेजी वा नेपाली र अंग्रेजी दुवै हुने जनाइएको छ। परीक्षा केन्द्र बुटवल रहनेछ भने परीक्षा मिति, समय र स्थान सम्बन्धी विस्तृत जानकारी आयोगको वेबसाइटमार्फत पछि प्रकाशन गरिनेछ।

दरखास्त दस्तुर प्रतिउम्मेदवार रु. ५०० तोकिएको छ। फरक पाठ्यक्रम भएका अप्राविधिक पदहरूमा अन्तर तहका लागि पनि खुला सरहकै दस्तुर लाग्नेछ। प्राविधिकतर्फ समान पाठ्यक्रम भएका पदहरूको अन्तर तह तथा समावेशी समूहमा आवेदन दिने उम्मेदवारले प्रत्येक थप समूह/पत्रका लागि रु. २०० का दरले अतिरिक्त दस्तुर बुझाउनुपर्नेछ।

आयोगले दरखास्त फाराम भर्दा उम्मेदवारहरूले व्यक्तिगत विवरण शुद्ध रूपमा भर्नुका साथै आफ्नै मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा उल्लेख गर्न अनुरोध गरेको छ। आवेदन प्रक्रिया सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा उपलब्ध User Manual मा उल्लेख गरिएको छ।

विज्ञापनसम्बन्धी थप विस्तृत जानकारी आयोगको आधिकारिक वेबसाइटमा क्रमशः प्रकाशन गरिने आयोगले जनाएको छ।

प्रकाशित: २५ पुष २०८२ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast