काठमाडौँ- प्रधानमन्त्री सुशिला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै जनाबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच करिब तीन घन्टा छलफल भएको थियो। प्रधानमन्त्री कार्कीलाई भेट्न बिहान साढे ११ बजेतर्फ बालुवाटार पुगेका ओली साढे दुई बजेतिर बाहिरिएका थिए।
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको प्रधामन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।
भेटका क्रममा समसामयिक राजनीतिक अवस्थाका साथै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्री उनले बताए।
अध्यक्ष ओलीले निर्वाचनका लागि भइरहेको तयारी, सुरक्षा अवस्थालगायतका विषयमा प्रधानमन्त्रीसँग चासो राखेको बताइएको छ।
जवाफमा प्रधानमन्त्री कार्कीेले चुनावका लागि सरकारले सबै प्रबन्ध मिलाएको भन्दै ढुक्क हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



