सहिदको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह

हिमाल प्रेस १६ माघ २०८२ ७:२२ | Friday, January 30, 2026
6
SHARES
सहिदको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन्।

सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै सहादत भएकाले यस दिवसले सहिदको आकांक्षा साकार पार्न प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरे।

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले सहिद दिवस देशका लागि प्राण आहुति दिने महान् सहिदको विशेष सम्झना गरिने दिनका रूपमा आजका दिनलाई लिइने स्मरण गरे।

‘नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका विभिन्न आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्झना गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा हामीले मनाउँदै आएका छौँ’, सन्देशमा भनिएको छ, ‘महान् सहिदको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु।’

प्रकाशित: १६ माघ २०८२ ७:२२ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast