राष्ट्रपति पौडेल जापान जाँदै, निर्वाचनकै बीच उपराष्ट्रपति यादवको यूएई भ्रमण

हिमाल प्रेस ९ माघ २०८२ १९:१३
12
SHARES
राष्ट्रपति पौडेल जापान जाँदै, निर्वाचनकै बीच उपराष्ट्रपति यादवको यूएई भ्रमण राष्ट्रपति रामचन्द्र पौडेल। फाइल तस्बिर

काठमाडौँ — संघीय संसदको निर्वाचन हुनु एक महिनाअघि अर्थात माघ १८ गते राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणमा जाने भएका छन। उनको चारदिने भ्रमण तालिका तय भएको परराष्ट्र उच्च अधिकारीले जानकारी दिए। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसर पारेर वर्षको सुरुवातमा नै राष्ट्रपतिको यो भ्रमण हुन लागको हो। उनको चारदिने छोटो भ्रमण हुन लागेको पनि बताइएको छ।

जापानामा पनि अहिले निर्वाचन घोषणा भइसकेको छ भने नेपालमा उम्मेदवारहरु आ-आफ्नो निर्वाचन क्षेत्र पुगिसकेका छन्। दुवै मुलुकमा निर्वाचनपछि कस्तो सरकार बन्ने तय हुने अवस्थामा रहँदा अहिले राष्ट्रपतिले भ्रमण गर्न चाहना राख्नु वा उताबाट चाहाना हुनुलाई विभिन्न कोणबाट मुल्यांकन गरिँदै राष्ट्रपतिको भ्रमण अघि बढेको अर्का एक परराष्ट्र उच्च अधिकारीले जानकारी दिए। यो भ्रमणलाई राष्ट्रप्रमुखबाट हुन लागेको सम्बन्ध सुधारको एक पाटोको रुपमा पनि लिँदै विशेष अर्थका रूपमा हेरिएको छ।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ (२०१३ भदौ १७) मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। उक्त ऐतिहासिक अवसरको सुरुवातमै राष्ट्रपति पौडेलबाट भ्रमण भइदिए हुन्थ्यो भन्ने जापानी चाहनापछि भ्रमणको तयारी अघि बढेको हो। जेनजी आन्दोलनबाट अपदस्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा चीनलाई खुसी पार्न परेडमात्र खेलेनन् चीनको भाषालाई नै यहाँको विज्ञप्ति बनाउँदा जापानले नेपाल प्रति दुःख व्यक्त गरेको थियो।

त्यही घाउलाई मलम लगाउन राष्ट्रपतिस्तरबाट नै भ्रमण हुन लागेको बताइएको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको चुनावी सरकार रहेकाले प्रधानमन्त्रीको विदेश भ्रमणको सम्भावना नरहेको अवस्थामा जापानले राष्ट्रपतिको भ्रमण प्रस्ताव गरेको पनि ति अधिकारीले बताए।

‘२१ फागुनमा निर्वाचन हुने भएकाले प्रधानमन्त्रीको विदेश भ्रमणको कार्यक्रम छैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘त्यही कारण कूटनीतिक सम्बन्धको ७० वर्षगाँठ राष्ट्रपति भ्रमणबाट सुरु गरियोस् भन्ने जापानी प्रस्ताव आएको हो।’

राष्ट्रपति पौडेल जापानसँग निकट सम्बन्ध राख्ने नेपाली नेताहरु मध्ये एक पर्छन्। २६ वर्ष अघि उनी प्रतिनिधिसभाका सभामुख हुँदा ‘नेपाल–जापान पार्लियामेन्टेरियन लिग’ स्थापना भएको थियो। उनलाई जापान सरकारले विदेशका नेता विज्ञहरुलाई दिने सम्मान ‘अर्डर अफ दि राइजिङ सन’ पदक सन २०२० मा दिएको थियो। उक्त पदकको २०२२ डिसेम्बर १५ मा काठमाडौँमै भएको थियो। नेपाल जापान संसदीय सम्बन्धलाई सजिवराखेको भन्दै यस्तो सम्मान दिएको थियो।

गत भदौमा चीनको तियान्जिनमा सम्पन्न एससीओ शिखर सम्मेलनपछि बेइजिङमा आयोजित दोस्रो विश्वयुद्धको अन्त्य तथा जापानी साम्राज्यवादविरुद्धको विजय स्मरण समारोहमा तत्कालीन प्रधानमन्त्री ओली सहभागी भएका थिए। त्यहाँ ओलीको साथामा अग्रपंक्तिमा भने रसिया, उत्तर कोरियालगायत मुलुकका राष्ट्रप्रमुख थिए।

त्यहाँ राष्ट्रपति पौडेल भने सहभागि भएनन्। उनले एक मुलुकको सैन्य परेडमा अर्को मुलुक किन पुग्ने भन्ने तर्क गरेका थिए। यससँगै जापान र उनको सम्बन्ध बलियो भएको छ। जापानले ओलीको त्यो भ्रमणप्रति खेद व्यक्त गरेको थियो।

राष्ट्रपति पौडेलको जापान भ्रमणसँगै उपराष्ट्रपति रामसहाय यादवको विदेश भ्रमण तय भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को आयोजनामा माघ २० देखि २२ सम्म दुबईमा हुने ‘वर्ल्ड गभर्मेन्ट समिट’ मा सहभागी हुन उपराष्ट्रपति यादवलाई निमन्त्रणा आएको छ।

उक्त कार्यक्रमको मिति पहिले नै तय भएकाले पनि राष्ट्रपतिको भ्रमण छोटो बनाएर राष्ट्रपति फर्केकै दिन उपराष्ट्रपति त्यसतर्फ जाने गरी मिलाइएको पनि परराष्ट्र अधिकारीलेब ताए। ‘पहिला राष्ट्रपतिको जापान भ्रमण हुनेछ, उनी फर्किएपछि मात्र उपराष्ट्रपति यूएई प्रस्थान गर्नेछन्,’ मन्त्रालयका अधिकारीले भने, ‘एकैपटक दुवै संवैधानिक पदाधिकारी विदेशमा रहने परम्परा विश्वमा नै छैन र त्यो राम्रो पनि मानिँदैन।’

नेपाल र जापान दुवै मुलुक निर्वाचन प्रक्रियामा रहेका बेला उच्चस्तरीय भ्रमण हुन लाग्नु आफैँमा अर्थपूर्ण रहेको कूटनीतिक विश्लेषकहरू बताउँछन्। आन्तरिक राजनीतिक संक्रमणकै बीच पनि दीर्घकालीन कूटनीतिक सम्बन्धलाई निरन्तरता दिनु र सन्देश दिनु यस भ्रमणको मुख्य महत्वका रूपमा हेरिएको छ।

प्रकाशित: ९ माघ २०८२ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast