राजनीतिक असहमति व्यक्तिगत झगडा होइन : पूर्वमन्त्री श्रेष्ठ

हिमाल प्रेस २५ पुष २०८२ ११:०३
22
SHARES
राजनीतिक असहमति व्यक्तिगत झगडा होइन : पूर्वमन्त्री श्रेष्ठ

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीबाट नेपाली कम्युनिस्ट पार्टीमा समायोजन भएकी पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले रेशम चौधरीसँग देखिएको विवाद र असहमतिबारे सामाजिक सञ्जालमार्फत स्पष्ट धारणा सार्वजनिक गरेकी छन्।

श्रेष्ठले कैलाली क्षेत्र नं. १ लाई स्वार्थ, षड्यन्त्र र सस्तो आरोपको अखडा बनाएर राजनीति गर्ने भूल नगर्न चेतावनी दिँदै यहाँका जनताले पीडाको राजनीति र जिम्मेवारीपूर्वक गरिएको काम छुट्याउन सक्ने बताएकी छन्। २०७९ सालमा आफू जनप्रतिनिधि बनेपछि ‘के गरिस् ?’ भन्ने प्रश्न उठाउनेहरूलाई तथ्य र इतिहासका आधारमा जवाफ दिन चाहेको उनको भनाइ छ।

राजबन्दी रिहाइ कुनै संयोग वा व्यक्तिगत सौदा नभएको उल्लेख गर्दै उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्पष्ट राजनीतिक इच्छाशक्ति र आफू क्याबिनेट मन्त्रीको जिम्मेवारीमा रहँदा गरिएको पहल बिना त्यो निर्णय सम्भव नहुने दाबी गरेकी छन्। ‘त्यो बेला सजिलै टिप्पणी गर्नेहरू कहाँ थिए?’ भन्दै उनले प्रश्नसमेत गरेकी छन्।

थारू समुदायलाई योजनाबद्ध रूपमा हत्यारा सावित गर्न गरिएको प्रचारको इतिहास स्मरण गराउँदै श्रेष्ठले आज पनि नयाँ शब्द र आरोपसहित उही सोच दोहोर्‍याइएको बताएकी छन्। इतिहास न मेटिने र न मोडिने उनको टिप्पणी छ।

रेशम चौधरीसँगको सम्बन्धलाई ‘श्रीमान-श्रीमतीको झगडा’ भनेर चित्रण गरिएकोप्रति आपत्ति जनाउँदै उनले यदि व्यक्तिगत विवाद भएको भए अंश मुद्दा, बहुविवाह वा व्यक्तिगत कानुनी विवाद देखिनुपर्ने उल्लेख गरेकी छन्। तर यस्ता कुनै मुद्दा नरहेको भन्दै यो राजनीतिक असहमति र परिस्थितिजन्य मतभेद मात्रै भएको उनको स्पष्टोक्ति छ। यस्तो विषयलाई घरायसी झगडामा झार्नु राजनीतिक असफलता र कायरताको प्रमाण भएको उनले बताएकी छन्।

‘रञ्जिता पद र कुर्सीका लागि थारू मुद्दा बिर्सिइन्’ भन्ने आरोपको खण्डन गर्दै उनले आफू राजनीतिक पृष्ठभूमिबाट नभई परिस्थितिले राजनीतिमा ल्याएको बताइन्। २०७२ सालको टीकापुर घटनामा नहुनु पर्ने झुटो मुख्य आरोपी बनाइएका व्यक्तिको नाबालक सन्तान सम्हालेर बसेकी आमाको पीडाले आफूलाई राजनीतिमा ल्याएको उनको भनाइ छ।

श्रेष्ठले आफूले पद नखोजेको, कुर्सी नमागेको र आन्दोलन जोगाउन समय, श्रम, आत्मसम्मान र सहनशीलता दाउमा राखेको बताएकी छन्। यदि पदकै लोभ भएको भए यति धेरै आलोचना, चरित्र हत्या र नारी भएकै कारण हरेक निर्णयमा प्रश्न खेप्दै यो बाटो नहिँड्ने उनको भनाइ छ।

झुटा कथा र मुद्दामार्फत नारीलाई बदनाम गराउने प्रयास राजनीतिक अपराध मात्र नभई नारीमाथिको योजनाबद्ध प्रहार भएको उल्लेख गर्दै उनले अन्ततः समयले नै सत्यको फैसला गर्ने बताएकी छन्।

उनले थारू मुद्दालाई प्रयोग गरेर नारीमाथि प्रहार नगर्न, श्रीमान-श्रीमतीको सम्बन्धलाई राजनीतिक हतियार नबनाउन र जनताको पीडामाथि उभिएर सस्तो लोकप्रियता खोज्ने भ्रममा नबस्न आग्रह गरेकी छन्।

प्रकाशित: २५ पुष २०८२ ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast