अनलाइनबाटै दिइयो ५ लाख २६ हजारलाई ‘प्रहरी रिपोर्ट’

हिमाल प्रेस २१ पुष २०८२ १९:२७
16
SHARES
अनलाइनबाटै दिइयो ५ लाख २६ हजारलाई ‘प्रहरी रिपोर्ट’

काठमाडौँ- नेपाल प्रहरीले चालु आर्थिक वर्षमा हालसम्म पाँच लाख २६ हजार ३५५ जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ।

सो अवधिमा ६ लाख ५९ हजार ४५ वटा अनलाइन आवेदन प्राप्त भएका थिए। तीमध्ये एक लाख ३० हजार ४२९ वटा आवेदन रद्द भएका थिए भने दुई हजार २६१ आवेदन कार्यान्वयनको क्रममा छन्।

हाल दैनिक ६ हजारदेखि पाँच हजार ५०० सम्म अनलाइन आवेदन प्राप्त हुने र तीमध्ये सामान्यतया चार हजार ५०० प्रमाणपत्र दैनिक उपलब्ध गराइने गरिएको प्रहरीले जनाएको छ। अधिकांश विकसित मुलुकहरुले प्रवेशाज्ञाका लागि तथा सरकारी एवं निजी स‌ंघ संस्थाहरूले समेत रोजगारीलगायत विभिन्न प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार आपराधिक गतिविधिमा संलग्न व्यक्तिले प्रहरी चारित्रिक प्रमाणपत्र पाउँदैनन्। जसले गर्दा विभिन्न देशमा रोजगारी वा अन्य अवसरहरूबाट वञ्चित हुनुपर्दछ।

नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क उपलब्ध गराउँछ। अपराधसम्बन्धी राष्ट्रिय अभिलेख तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० बमोजिम प्रहरी चारित्रिक प्रमाणपत्र पाउने आवेदकलाई नियमानुसार उपलब्ध गराउने गरिएको उहाँले जानकारी दिनुभयो।

निर्देशिकाअनुसार कुनै व्यक्तिउपर कुनै फौजदारी मुद्दामा अभियोग लागि अदालत वा अर्धन्यायिक निकायबाट सजाय तोकिएकोमा त्यस्ता सजाय भुक्तान नगरी कुनै पनि माध्यमबाट निजलाई प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध हुने छैन।

गम्भीर वा जघन्य कसुरमा सजाय पाएको, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोगलगायत अन्य फौजदारी कसुरमा सजाय पाएका व्यक्तिको हकमा त्यस्तो व्यक्तिले गरेको कसुर उल्लेख गरी प्रहरी चारित्रिक प्रमाणपत्र जारी हुँदै आएको छ।

यस्तै कुनै फौजदारी अभियोगमा मुद्दा दायर भई सफाइ पाएको, नाबालक, अदालत वा कुनै अर्धन्यायिक निकायबाट सुरू कारबाही र किनारा हुने फौजदारी मुद्दामा एक वर्ष वा सोभन्दा कम सजाय भई सजाय भुक्तान भएको, कुनै फौजदारी अभियोगमा मुद्दा दायर भई सफाइ पाएको व्यक्तिको विरूद्धमा पुनरावेदन परी पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको व्यक्तिको हकमा कसुर उल्लेख नगरी प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध हुनेछ। रासस

प्रकाशित: २१ पुष २०८२ १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast