काठमाडौँ- जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम राख्न सबैसँग आह्वान गरेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आइतबार सार्वजनिक अपिल गर्दै सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि खालका गतिविधि नगर्न आह्वान गरेका हुन्।
‘एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सिर्जना गरी राष्ट्रिय एकतामा आँच पुर्याउने वा झुटा अफवाह फैलाइ समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरूको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल खाताको सुक्षम निगरानी भइरहेको छ,’ दाहालले भने,‘यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सहज हुन पनि अनुरोध गरिन्छ।’
मस्जिदमा तोडफोड भएको विरोधमा प्रदर्शनकारीहरूले वीरगञ्जमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले छपकैयास्थित नेपाल प्रहरीको बिटमा तोडफोड गरेका छन्।
टायर बालेर प्रदर्शनमा उत्रिएका मुस्लिम समुदायका युवाहरूले प्रदर्शनको क्रममा छपकैयास्थित श्रीराम चलचित्र भवनअगाडिको प्रहरीबिटमा ढुंगामुढा र तोडफोड रेपछि प्रहरीले लाठी चार्जका साथै पाँच राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजु कार्कीले प्रदर्शनकारीको ढुंगा लागेर चार जना प्रहरी घाइते भएको बताए। पछिल्लो समय वीरगञ्जको अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन्।
धनुषाको कमला नगरपालिका–६ सखुवा मरानमा अज्ञात व्यक्तिहरूले मस्जिदमा तोडफोड गरेको घटना सार्वजनिक भएको थियो। यो घटनाको विरोधमा मुस्लिम समुदायले वीरगञ्जमा प्रदर्शन गरेको हो।



