देश निर्वाचनमय भएकाले कुनै पनि आपराधिक गतिविधि हुन दिइन्न : गृहमन्त्री अर्याल

हिमाल प्रेस ३० पुष २०८२ १६:१६
2
SHARE
देश निर्वाचनमय भएकाले कुनै पनि आपराधिक गतिविधि हुन दिइन्न : गृहमन्त्री अर्याल

जनकपुरधाम- गृहमन्त्री ओमप्रकाश अर्यालले देश अहिले निर्वाचनमय भएकाले कुनै पनि आपराधिक गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका छन्।

संघीय गृह मन्त्रालय र मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्तरूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अहिले प्रविधिमा भएको विकासले एआईको माध्यमबाट विभिन्न उच्छृंखल गतिविधि हुन सक्ने भएकाले त्यस्ता गतिविधि गर्नेहरूसँग कठोरताका साथ प्रस्तुत हुने बताएका हुन्।

‘अभिव्यक्ति स्वतन्त्रताको नाममा कुनै पनि निर्वाचनसँग जोडेर वा अन्य विषयवस्तु राजनीतिक वा धार्मिक नाममा हिंसा भड्काउने, सद्भाव खल्बलिनेलगायत कुनै पनि गतिविधि हुन नदिन सरकार कटिबद्ध छ र यसलाई नियन्त्रण गर्न सरकार कठोरताका साथ प्रस्तुत हुनेछ,’ उनले भने।

यस्तै उनले देश र नागरिकको सुरक्षा एवं निर्वाचनको सवालमा कसैसँग कुनै पक्षपात वा हितविपरीत सम्झौता गर्न नसकिने स्पष्ट पारेका छन्।

कार्यक्रममा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीय सरकारले प्रहरी समायोजन र प्रदेश प्रहरी ऐन कार्यान्वयनमा ल्याउन नदिँदा प्रदेशको सुरक्षामा चुनौती थपिएको गुनासो गरे।

प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले मधेश प्रदेशको सुरक्षा अवस्था नियन्त्रणमै रहे पनि सन्तोषजनक नरहेको जिकिर गरे।

सो बैठकमा प्रदेशको सुरक्षा अवस्था, खुला सीमानाकाले बढेको विकृति र निर्वाचनमा अपनाउन सकिने सुरक्षा रणनीतिबारे छलफल गरिने बताइएको छ।

बैठकमा संघीय गृह सचिव, प्रदेश प्रहरी प्रमुख, प्रदेशका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्तरीय सुरक्षा निकाय प्रतिनिधिहरूको सहभागिता रहेको छ।

प्रकाशित: ३० पुष २०८२ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast