गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

हिमाल प्रेस ९ माघ २०८२ १६:१३
16
SHARES
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए।

यसअघि काठमाडौँ–४ बाट निर्वाचित हुँदै आएका थापा यसपालि सर्लाही–४ बाट चुनाव लड्दैछन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले सर्लाही–४ मा मनोनयन दर्ता गरेका हुन्।

सर्लाही–४ बाट रास्वपा प्रवेश गरेका तत्कालीन कांग्रेस नेता अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका छन्। कांग्रेसले टिकट नदिएपछि सिंह २०७९ सालको निर्वाचनमा स्वतन्त्र भएर चुनाव लडेका थिए। उनी कांग्रेस उम्मेदवार नागेन्द्र कुमारलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

मधेशको जिल्लाबाट पहिलोपटक चुनावी मैदानमा उत्रिएका कांग्रेस सभापति थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सिंहबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।  रास्वपाले काठमाडौँ महानगरपालिकाका पूर्वमेयर एवं पार्टीका वष्ठि नेता बालेन्द्र साह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको छ।

विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक बसेको हो।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापासहित अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शुक्रबार नै पदभार ग्रहण गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast