काठमाडौँ- ‘असारे महिनामा पानी पर्यो रुझाउने, एक्लो यो मेरो मन कसरी बुझाउने’ यो गीत नसुन्ने सायदै होलान्।
तुलसी गजमेरको शब्द र संगीतमा बनेको गीतका पछिल्ला गायक हुन् प्रशान्त तामाङ। यसका ओरिजिनल गायक भने छुजाङ डुक्पा हुन्।
त्यही गीतलाई पछि तामाङले अनुमति लिएर गाएका थिए। ‘असारे महिनामा’ गीतले जसरी डुक्पालाई चिनायो त्यो भन्दा बढी प्रशान्तलाई चिनाउन सफल भयो।
उनै प्रशान्त तामाङको आज निधन भएको छ। आइतबार बिहान हृदयाघातका कारण उनको ४३ वर्षको उमेरमा निधन भएको हो।
दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको उनका सन्निकट मानिने राजेश घटानीले जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालबाट प्रशान्तलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सन् १९८३ मा भारतको दार्जिलिङमा जन्मिएका तामाङ ‘इन्डियन आइडल ३’ का विजेता हुन्। सन् २००७ मा इन्डियन आइडल सिजन ३ को उपाधि जितेसँगै उनको चर्चा चुलिएको थियो। साथै हिन्दी र नेपाली गरी दर्जनाैँ गीत गाएका छन्।
उनले गाएका थुप्रै नेपाली गीत लोकप्रिय छन्, ‘जाउला रेलैमा सरर’, ‘मन साइली’, ‘सिरिमा सिरी’, ‘रातो रानी’, ‘आफ्नैले त घात गर्दा’ इत्यादि। ‘असारे महिनामा’ भन्ने गीत कालजयी नै बनेको छ। आज पनि उनलाई संगीतकर्मीहरूले त्यही आइडलको आइकन मान्छन्।
गायक प्रताप दासले आइडल भन्ने बित्तिकै प्रशान्तको नाम आउने बताएका छन्। प्रशान्तको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘आइडल भन्ने बित्तिकै सुरुमै दिमागमा आउने नाम हो, प्रशान्त तामाङ। अब उहाँ हामी माझ रहनु भएन भन्ने खबरले साह्रै नै पीडा दिएको छ। उहाँको आत्माले शान्ति पाओस्।’
प्रशान्त गायक मात्र नभएर उनी अभिनेता पनि थिए। उनले पहिलाे फिल्म ‘गोर्खा पल्टन’ बाट चर्चामा कमाए। ‘परदेशी’, ‘अँगालो यो मायाको’, ‘निशानी’, ‘परदेशी २’ लगायत केही फिल्म जसले प्रशान्तको अभिनेता पहिचानलाई फराकिलो बनाइदियो। योसँगै फौजीको कथामा बन्ने फिल्ममा उनी निर्माता तथा निर्देशकको रोजाइमा पर्थे।
तामाङका एक छोरी र श्रीमती छन्। परिवारसहित उनी दिल्लीमा बस्थे। उनी नामजस्तै शान्त, सरल स्वभावका थिए प्रशान्त। नेपाली संगीत र फिल्म क्षेत्रमा चर्चित प्रशान्तको निधनलाई धेरैले अपत्यारिलो भनेका छन्।
संगीतकार, फिल्म निर्देशक नारायण रायमाझीले भावुक हुँदै लेखेका छन्, ‘हे भगवान यो खबरहरू सबै झुटो होस्!’
गायक तथा संगीतकार प्रमोद खरेलले अप्रिय र अपत्यारिलो खबर भन्दै लेखेका छन्, ‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो। प्रिय प्रशान्त तामाङ हामीबीच रहनु भएन छ। उफ्! वैकुण्ठमा बास होस्।’
हास्यकलाकार दिनेश काफ्लेले उनी सरल र शान्त स्वभावका रहेको बताएका छन्। आफूले दुईपटक प्रशान्तसँग स्टेजमा काम गरेकाे भन्दै उनले लेखेका छन्, ‘दाजु प्रशान्त तामाङ नामजस्तै शान्त र सरल स्वभावका, कतै घमण्ड नभएको यस्तो एउटा प्रतिभा कहिले नबिर्सने त्यो पल!’
अभिनेत्री पूजा शर्माले ‘असारे महिनामा’ गीत सम्झिँदै प्रशान्तलाई श्रद्धाञ्जली दिएकी छन्। उनले लेखेकी छन्, ‘असारे महिनामा पानी पर्यो रुझाउने। पत्याउनै गाह्रो पर्यो दाइ। तपाईंको स्वर्गमा बास होस्! हामी सम्झिरहने छौँ।’
गायिका मेचु धिमालले प्रशान्तकाे निधनले कलाकारिता क्षेत्रमा ठूलाे क्षति भएकाे बताएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘ठूलाे क्षति.. शान्ति मिलोस् प्रशान्त दाइ!’
गायिका आस्था राउतले प्रशान्तको निधन सबै नेपालीका लागि दुःखद् घटना रहेको बताएकी छन्। उनले प्रशान्तसँग एक कार्यक्रम सँगै गर्न पाएको सम्झिँदै उनी हास्य स्वभाव भएको एक शान्त व्यक्ति रहेको उल्लेख गरेकी छन्।
प्रशान्तको कलाले नेपालीभाषी विश्ववासीलाई एउटै मालामा गाँसेको हास्य कलाकार मनोज गजुरेलले अनुभूति गरेका छन्। उक्त समुदायले उनको कलालाई युगौंसम्म सम्झिरहने भन्दै उनले फेसबुकमा लेखेका छन्।
‘प्रशान्त तामाङ पछिल्लो अवस्थामा कहाँ थिए, कस्तो अवस्था थिए, जानकारी नलिनु ठूलो भुल भयो। आज अकस्मात शरीर छोडेको खबरले मर्माहत भएको छु। र, आफ्ना साथीभाइ, आफन्तसँग हाई हेलो गर्दै गर्नुपर्दो रहेछ, नत्र मरेपछिको श्रद्धञ्जलीको केही अर्थ हुनेछैन भन्ने भाव गहिरोसँग दौडिइरहेको छ। नेपालका विभिन्न शो मा सहकार्य, बेलायत टुरको ३ महिने सहयात्रा सधैँ सम्झनामा रहनेछ। हार्दिक श्रद्धाञ्जली प्रिय प्रशान्त! नेपालीभाषी विश्ववासीलाई तपाईंको कलाले एउटै मालामा गाँसेको थियो। यो समुदायले तपाईलाई युगौंसम्म सम्झिरहनेछ,’ उनले लेखेका छन्।
पछिल्लो समय उनी भारतीय फिल्म र वेबसिरिजमा काम गरिरहेका थिए। भारतीय वेबसिरिज ‘पाताल लोक सिजन २’ मा गरेको अभिनयबाट पनि उनले प्रशंसा पाइरहेका थिए। केही महिनाअघि उनी सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउड डेब्यू गरेकाे खबर बाहिरिएकाे थियाे। उनले उक्त फिल्मकाे छायाँकन पनि सकेका थिए। तामाङले नेपाली संगीत र फिल्म क्षेत्रमा गरेकाे योगदान अविस्मरणीय रहनेछ।




