नेपाल टेलिकमद्वारा ३० प्रतिशत नगद लाभांश पारित, ६ अर्ब नाफा

हिमाल प्रेस ३० पुष २०८२ २०:१७
2
SHARE
नेपाल टेलिकमद्वारा ३० प्रतिशत नगद लाभांश पारित, ६ अर्ब नाफा

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १८ औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट सेयरधनीहरूलाई प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

सभालाई सम्बोधन गर्दै कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनीको वार्षिक प्रतिवेदन पेस गरिन्। प्रतिवेदनअनुसार कम्पनीले कुल ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरी ६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

कम्पनीले आफ्नो कुल आयको ठूलो हिस्सा अर्थात १८ अर्ब ४६ करोड रुपैयाँ तथा शुल्कवापत नेपाल सरकारलाई बुझाएको छ।

अध्यक्ष अर्यालले नेपाल सरकारको डिजिटल नेपालको अवधारणलाई साकार पार्न कम्पनीले दुर्गम क्षेत्रमा समेत सेवा विस्तार गरिरहेका बताइन्। उनका अनुसार फोरजी सेवा ७७ वटै जिल्लाका ७४९ स्थानीय तहमा पुगिसकेको छ।

त्यस्तै एफटीटीएच देशका सबै जिल्लामा विस्तार भएको छ भने हाल देशभर टुजीका ४ हजार ५४२, थ्रीजीका २ हजार ९९४ र फोरजीका ४ हजार ४३७ वटा टावरहरू सञ्चालनमा रहेका छन्।

कम्पनी निकट भविष्यमै राजधानीलगायत ठूला सहरहरूमा फाइभजी सेवा सञ्चालन गर्ने प्रक्रिया रहेको जानकारी दिइएको छ। साथै आगामी दिनमा ठूला परियोजना सञ्चालनका लागि पुँजी आवश्यक परेमा बोनस सेयरसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

साधारणसभामा ९१.५६ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरुको उपस्थिति रहेको थियो। सभाले पारित गरेको लाभांश बुधबारदेखि नै वितरण गर्ने व्यवस्था मिलाइएको कम्पनीका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए।

प्रकाशित: ३० पुष २०८२ २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast