बाली प्रजनन तथा बीउ विज्ञानसम्बन्धी राष्ट्रिय सम्मेलन हुने

हिमाल प्रेस ५ माघ २०८२ १८:२५ | Monday, January 19, 2026
36
SHARES
बाली प्रजनन तथा बीउ विज्ञानसम्बन्धी राष्ट्रिय सम्मेलन हुने

ललितपुर– नेपालको कृषि क्षेत्रलाई वैज्ञानिक, दिगो र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित ‘अनुवंश विज्ञान, बाली प्रजनन तथा बीउ विज्ञानसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन’ आयोजना हुने भएको छ।

सम्मेलनको मुख्य उद्देश्य नेपालमा बालिका जातीय सुधार, बीउ नवप्रवर्तन तथा कृषि जैविक विविधताको संरक्षण र उपयोगमार्फत दिगो कृषि प्रणालीको विकास गर्नु रहेको आयोजक राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख डा. वालकृष्ण जोशीले बताए। उनका अनुसार हाल नेपालको कृषि क्षेत्र कम उत्पादनशीलता, उन्नत तथा गुणस्तरीय बीउमा सीमित पहुँच, जलवायु परिवर्तन अनुकूल प्रविधिको अभाव जस्ता चुनौती रहेको सन्दर्भमा यस्ता वैज्ञानिक छलफलहरू अत्यन्तै महत्वपूर्ण हुनेछ।

सम्मेलनमा अनुसन्धानकर्ता, वैज्ञानिक, नीति निर्माता, प्राध्यापक, विद्यार्थी, उद्यमीलगायतका करिब २३० जना सहभागिता हुनेछ।

सम्मेलन अवधिभर ७ वटा कार्यपत्र, ४५ वटा अनुसन्धान लेख तथा १५ वटा पोस्टर प्रस्तुति हुने जोशीले बताए। सम्मेलनमा आनुवंशिकी, बाली प्रजनन, बीउ विज्ञान, कृषि जैविक विविधता, कृषि जैविक प्रविधि, कृषि बायोस्टाटिस्टिक्स, डेटा साइन्स, कृषि नीति तथा बौद्धिक सम्पत्ति अधिकारलगायत विषयमा केन्द्रित छलफल हुनेछ। साथै, स्मार्ट बाली उत्पादन, खाद्य तथा पोषण सुरक्षा, वातावरणीय संरक्षण र व्यावसायिक सम्भावनाका विषयहरू पनि प्राथमिकतामा रहनेछन्। उत्कृष्ट योगदान दिने अनुसन्धानकर्ता, सेवा प्रदायक, बाली प्रजनक तथा विद्यार्थीहरूलाई ७ विधामा पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।

आयोजक संस्थाहरूका अनुसार सम्मेलनबाट प्राप्त सिफारिस र रणनीतिले नेपालको कृषि विकास, खाद्य तथा पोषण सुरक्षा, स्वास्थ्य, रोजगारी तथा वातावरणीय संरक्षणमा दीर्घकालीन योगदान पुग्ने विश्वास लिइएको छ। बाली प्रजनन तथा आनुवंशिकी समाज नेपाल र नेपाल कृषि अनुसन्धान परिषद्को संयुक्त आयोजनामा हुने सम्मेलनमा लिबर्ड, जिन बैंक, अक्रपाम नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, मुक्तिनाथ बीउ बैंकको सहकार्यमा हुने सम्मेलन मंगलबार माघ ६ गतेदेखि तीन दिनसम्म खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा हुनेछ।

प्रकाशित: ५ माघ २०८२ १८:२५ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast