राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा दुई सिटका लागि ६ जनाको उम्मेदवारी

हिमाल प्रेस २३ पुष २०८२ २१:११
22
SHARES
राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा दुई सिटका लागि ६ जनाको उम्मेदवारी

काठमाडौँ– माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा ६ जनाको उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन जना महिला र तीन जना पुरुष गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कबिता महर्जनले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिइन्।

अन्य क्लस्टरबाट नेकपा (एमाले) का डा. प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिष्ट पार्टीबाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराएका छन्।

आफ्ना प्रस्ताव र समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तासँगै राजनीतिक दलहरू चुनावी अंकगणितमा जुटेका छन्।

एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभार अनुसार नेपाली कांग्रेस बलियो देखिन्छ। राष्ट्रियसभाका लागि बागमती प्रदेशमा प्रदेशसभाका एक सय १० र पालिकातर्फ दुई सय ३८ गरी तीन सय ४८ मतदाता छन् भने १० हजार तीन ५२ मतभार रहेको छ।

बागमती प्रदेशमा नेपाली कांग्रेसको प्रदेशसभामा ३७ र स्थानीय तहतर्फ एक सय आठ जना छन्। त्यो अनुसार कांग्रेसको चार हजार १३ मतभार छन्। यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीसँग दुई हजार सात सय ३८ मतभार छन्।

बागमती प्रदेशमा नेकपा एमाले दुई हजार पाँच सय ७१ मत मतभारसहित तेस्रो स्थितिमा छ। प्रदेशसभामा १३ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको सात सय ८ मतभार छ भने नेपाल मजदुर किसन पार्टीको एक सय ९७ मतभार, हाम्रो नेपाली पार्टीको एक सय छ मतभार र स्वतन्त्रको १९ मतभार छन्।

प्रकाशित: २३ पुष २०८२ २१:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast