राष्ट्रियसभा निर्वाचन : गण्डकीमा प्रतिस्पर्धाभन्दा गणित भारी

विजय नेपाल ११ माघ २०८२ ११:२८
12
SHARES
राष्ट्रियसभा निर्वाचन : गण्डकीमा प्रतिस्पर्धाभन्दा गणित भारी

पोखरा- राष्ट्रियसभा सदस्यकाे निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा पनि मतदान सुरु भएको छ। राष्ट्र बैंक चाेकस्थित निर्वाचन कार्यालयमा मतदान सुरु भएको हाे।  गण्डकीमा अन्य र महिला क्लष्टरमा गरी ३-३ जनाले मनोनयन दर्ता गराएका छन्।

गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा (एमाले) समेतका उम्मेदवार गरी कुल ६ जनाले यसअघि मनोनयन दर्ता गराएका हुन्। अर्को उम्मेदवारी दिनेमा नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमार्चा हुन्।

गठबन्धनतर्फबाट महिला समूहमा एमालेकी सम्झना देवकोटाको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए। गोरखा नगरपालिका ३ निवासी देवकोटा यसअघिका विभिन्न तहका निर्वाचनमा पटकपटक हार व्यहोरेकी नेतृ हुन्। ०८० को निर्वाचनमा समेत राष्ट्रियसभाकै सदस्यको उम्मेदवार उनी त्यसबेला कांग्रेस र माओवादीको गठबन्धनका कारण पराजित भएकी थिइन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा गोरखा नगरापलिकाको उपमेयर ०७९ मा गोरखाकै मेयर पद समेत गुमाएकी थिइन्।

महिला कोटामै नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट गोमा लुइँटेल घिमिरे उम्मेदवार छन्। पोखरा-२५ निवासी ४० वर्षीया घिमिरे माओवादी जनयुद्धकी घाइतेसमेत हुन्। जनमोर्चाबाट बागलुङका ५२ वर्षीया लक्ष्मी बास्कोटाको मनोनयन दर्ता भएको छ।

उता अन्य समूहमा गठबन्धनतर्फबाट कांग्रेसका जगत तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका ७ का ५५ वर्षीय तिमिल्सिना प्राध्यापक संघका केन्द्रीय अध्यक्ष समेत भइसकेका व्यक्ति हुन्। सोही समूहमा नेकपाबाट मनाङ जिल्लाको नासो ९ निवासी ७१ वर्षीय कपिल लामा र जनमोर्चाबाट पोखरा २२ निवासी ६६ वर्षीय शंकरप्रसाद बरालले मनोनयन दर्ता गराएका छन्। बराल जनमोर्चाका गण्डकी प्रदेश अध्यक्षसमेत हुन्।

यसअघि गण्डकीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले) नेतृ भगवती न्यौपानेको कार्यकाल सकिएको हो। कास्की जिल्ला अदालतका न्यायाधीशसमेत रहेका निर्वाचन अधिकृत हिमलाल बेलबासेका अनुसार निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने व्यवस्था छ। प्रदेश सांसदको मतदाता ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ छ। यसअघि प्रदेश सांसदको ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको १८ थियो।

गण्डकीमा ६० सदस्यीय प्रदेशसभा छ भने ८५ वटा पालिका छन्। पालिकातर्फ अध्यक्ष र उपाध्यक्ष गरी १७० मतदाता छन्। प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका सबैभन्दा धेरै २७ जना सांसद छन्। एमालेका २२ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ७ जना सांसद छन्। राप्रपाका २, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का १ जना सांसद छन्। स्वतन्त्र उम्मेदवार मनाङे कारागारमा छन्।

यसरी प्रदेशसभा तथा पालिकातर्फ सबैभन्दा ठूलो दल कांग्रेस र एमाले भएकाले गठबन्धनकै उम्मेदवारको जित सुनिश्चितझैं छ।प्रदेशसभातर्फ कांग्रेस एक्लैको १४३१ मतभार छ। एमालेको ११६६ छ। पालिकातर्फ कांग्रेसका निर्वाचित ६७ जना प्रमुख-उपप्रमुखबाट मतभार १२७३ हुन आउँछ। यसरी प्रदेश र पालिकाबाट कांग्रेसको कुल मतभार २७०४ रहेको छ।

एमालेको पालिकातर्फ ७० जना प्रमुख-उप्रमुखबाट मतभार १३३० छ। प्रदेश र पालिका दुबै जोड्दा एमालेको २४९६ रहेको छ।नेकपाको ७ सांसदको मतभार ३७१ छ। पालिकामा ३० जनप्रतिनिधि (एकीकृत समाजवादीसमेत) ५७० मतभार छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य एकीकत समाजवादीबाट निर्वाचित भएका थिए।

पालिकामा ३ पद जितेको राष्ट्रिय जनमोर्चाको मात्र ५७ मतभार छ। राप्रपाका २ सांसदको मतभार १०६ मतभार छ। नयाँ शक्तिको मात्र ५३ छ।

प्रकाशित: ११ माघ २०८२ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast