राष्ट्रियसभा निर्वाचन : मधेशमा जसपा नेपालले दियो उम्मेदवारी

हिमाल प्रेस २३ पुष २०८२ १७:४७
18
SHARES
राष्ट्रियसभा निर्वाचन : मधेशमा जसपा नेपालले दियो उम्मेदवारी

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तीन जना उम्मेदवार खडा गरेको छ।

अन्य कलस्टरतर्फ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरलाई समर्थन गरेको जसपा नेपालले भने अन्य तीन समूहमा आफ्नो उम्मेदवार खडा गरेको हो।

जसपा नेपालले अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलिततर्फ चमेली देवी दासलाई उम्मेदवार बनाएको हो। उनीहरूले बुधबार जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

लोसपा अध्यक्ष ठाकुरलाई नेपाली कांग्रेस र नेकपा एमालेले समेत समर्थन गरेको छ।

यसअघि कांग्रेस, एमाले र जसपा नेपाल–लोसपाबीच सहकार्य गर्ने सहमति भएको बताइएको थियो। तर, जसपा नेपालले आफ्नै उम्मेदवार खडा गरेपछि राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र लोसपाबीच मात्रै सहकार्य हुने भएको छ।

लोसपाका नेता एवं मधेश प्रदेशसभाका पूर्वसदस्य परमेश्वर साह आफ्नो पार्टीका अध्यक्ष ठाकुरलाई जसपा नेपालका साथै कांग्रेस र एमालेको पनि समर्थन रहेको बताए। अन्य समूहतर्फ जसपा नेपालले दिएको उम्मेदवारीबारे आफूहरूले प्रस्ट पार्न नसक्ने उनको भनाइ छ।

गत पुस १४ गते जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय भएको थियो। यद्यपि दुवै दलको एकीकरणले मूर्त रुप लिन अझै बाँकी छ।

नेता साहले पनि एकीकरण गर्ने सहमति भए पनि बाँकी प्रक्रियाहरू टुंग्याउन बाँकी रहेको बताए।

उनले भने,‘दुवै दलबीच एकता गर्ने निर्णय भए पनि अन्य प्रक्रियाहरू टुंग्याउन अझै बाँकी छ। एकीकरणले मूर्त रुप लिइसकेको छैन। महन्थजीलाई कांग्रेस, एमाले र जसपा नेपालको समर्थन छ। अन्य समूहतर्फ जसपा नेपालले किन उम्मेदवारी दियो हामीलाई भन्दा उसैलाई सोध्नुपर्छ।’

जसपाबाट उम्मेदवारी दिएका चौधरी सप्तरी, साह सिरहा र दास धनुषाकी हुन्।

ठाकुरले उम्मेदवारी दिएको अन्यबाहेक अरू समूहहरूमा कांग्रेस र एमालेले उम्मेदवारी दिएको छ।

कांग्रेसका रञ्जित कर्ण (अपाङ्गता/अल्पसंख्यक) र धर्मेन्द्र पासवान (दलित) र एमालेकी रेखा झा (महिला) समूहबाट उम्मेदवारी दिएका छन्।

 

प्रकाशित: २३ पुष २०८२ १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast