राष्ट्रियसभा निर्वाचन : कांग्रेस-एमाले-जसपाले टुंग्याए राष्ट्रियसभा उम्मेदवार

हिमाल प्रेस २३ पुष २०८२ १२:०५
20
SHARES
राष्ट्रियसभा निर्वाचन : कांग्रेस-एमाले-जसपाले टुंग्याए राष्ट्रियसभा उम्मेदवार

काठमाडौँ- नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच राष्ट्रियसभाको निर्वाचनका लागि तालमेल भएको छ। सोहीअनुसार तीनै दलले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। उम्मेदवारी दर्ता आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुँदैछ।

यसअघि कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालबीच तालमेल गर्नेबारे छलफल भएको थियो। तर अन्तिम समयमा नेकपा बाहिरिएपछि कांग्रेस, एमाले र जसपाबीच मात्रै तालमेल कायम भएको हो।

तालमेल अनुसार कांग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले १ सिट लिने सहमति भएको छ। सोही आधारमा तीनै दलले उम्मेदवारको टुंगो लगाएका छन्।

नेपाली कांग्रेसबाट कोशी प्रदेशमा सुनीलबहादुर थापा उम्मेदवार बनेका छन्। मधेश प्रदेशबाट धमेन्द्र पासवास र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना उम्मेदवार बन्ने भएका छन्।

लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार तय भएका छन्।

नेकपा एमालेबाट कोशी प्रदेशमा रोशनी मेचे र सोमनाथ पोर्तेल उम्मेदवार बनेका छन्। मधेश प्रदेशबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा तथा लुम्बिनी प्रदेशबाट रामकुमारी झाक्री उम्मेदवार हुने भएका छन्।

कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीला भण्डारी उम्मेदवार बन्ने तय भएको छ। जनता समाजवादी पार्टी नेपालले भने महन्थ ठाकुरलाई राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।

१८ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ।

प्रकाशित: २३ पुष २०८२ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast