काठमाडौँ- राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशमा गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन्। नेपाली कांग्रेस–नेकपा एमाले– जसपा नेपालको गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरू निर्वाचित भएका हुन्।
मधेश प्रदेशमा महिला, अल्पसंख्यक÷अपाङ्गता, दलित र अन्य गरी चारवटा कलस्टरका लागि चुनाव भएको थियो।
महिलातर्फ नेकपा एमालेकी रेखा झा निर्वाचित भएकी छन्। उनले ७ हजार २२२ मतभार प्राप्त गरिन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीकी शमीकुमारी अग्रवालले १ हजार ९४४ मत ल्याएकी छन्। जसपा नेपालकी चन्द्रकला देवी साहले ३२२ मत प्राप्त गरिन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँगको एकतापछि उम्मेदवारी निष्क्रिय गरे पनि जसपा नेपालको उम्मेदवारले मत पाएको हो।
महिला कलस्टरमा बदर मतभार ३५७ रहेको छ।
त्यस्तै अल्पसंख्यक कलस्टरबाट नेपाली कांग्रेसका रञ्जित कर्ण निर्वाचित भएका छन्। उनले ८ हजार ९३ मत प्राप्त गरे। नेपाली कम्युनिस्ट पार्टीका रामनन्दन प्रसादले १ हजार ३६१ र जसपा नेपालका शैलेशकुमार चौधरीले २७७ मत प्राप्त गरे। यो समूहमा बदर मतभार ११४ रहेको छ।
दलित कलस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान निर्वाचित भउका छन्। उनले ७ हजार ९०४ मत प्राप्त गरे। नेकपाका शम्भु पासवानले १ हजार ३७६ र जसपा नेपालकी चमेली देवी दासले २०९ मत प्राप्त गरेका छन्। यो समूहमा बदर मतभार १८६ रहेको छ।
त्यस्तै अन्य समूहतर्फ जसपा नेपालका संरक्षक महन्थ ठाकुर निर्वाचित भएका छन्। उनी ७ हजार ७२५ मतभार ल्याएर विजयी भएका हुन्। यो समूहबाट नेपाली कम्युनिस्ट पार्टीका लक्ष्मण पौडेलले १ हजार ८०५ मत ल्याए भने बदर मतभार ३१५ रहेको छ।
निर्वाचनमा प्रदेशमा कायम रहेका सयमध्ये ९९ प्रदेश सांसद र २६४ मध्ये २४२ पालिकाका मेयर÷उपमेयर, अध्यक्ष÷उपाध्यक्षले मतदान गरेका थिए।



