काठमाडौँ- नेपाल प्रहरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन हजार ६ सय ८० वटा मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको जनाएको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले रासससँग कुरा गर्दै निर्वाचन सुरक्षाका लागि मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको बताए।
उनका अनुसार दुई हजार आठ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार चार सय ४२ वटा मतदानस्थललाई संवेदनशील र तीन हजार छ सय ८० वटा मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ।
प्रवक्ता काफ्लेले वर्गीकरणका आधारमा नियमितरूपमा प्रहरी परिचालन गरी सबै मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुद बनाइसकिएको बताए। ‘भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन नेपाल प्रहरी संगठन पूर्ण रूपमा कटिबद्ध छ,’ उनले भने,‘सम्पूर्ण मतदाता, आमनागरिक तथा राजनीतिक दलको सुरक्षाका लागि प्रहरी तयारी अवस्थामा छ।’
शान्ति सुरक्षाको विषयलाई लिएर कसैले डर वा त्रास मान्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले देशभर शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न आवश्यक सबै व्यवस्था मिलाइसकिएको बताए।



