माघी पर्वमा सभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् : राष्ट्रपति

हिमाल प्रेस १ माघ २०८२ ६:४९
2
SHARE
माघी पर्वमा सभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले माघे संक्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

माघे संक्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले भनेका छन्, ‘माघे संक्रान्ति जस्ता पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्‍याउनाका साथै सम्पूर्ण नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।’

माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहिआएको छ ।

राष्ट्रपति पौडेलले आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहिआएको पनि उल्लेख गरेका छन् । विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, ‘माघे संक्रान्ति एवम् माघी पर्वबाट संस्कृतिको संरक्षण गर्दै सभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’

प्रकाशित: १ माघ २०८२ ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast