तस्बिर : द टाइम्स
काठमाडौँ- भेनेजुएलाकी प्रमुख विपक्षी नेता मारिया कोरिना मचाडोले आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेकी छन्।
बीबीसीका अनुसार बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटघाटका क्रममा मचाडोले ट्रम्पलाई उक्त पुरस्कार प्रदान गरेकी हुन्। यस भेटघाटपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै मचाडोको प्रशंसा गरेका छन्।
ट्रम्पले लेखेका छन्, ‘मारिया एक अद्भुत महिला हुन्। उनले धेरै संघर्ष सहनुपरेको छ। उनले मेरो कामको सम्मानस्वरूप आफ्नो नोबेल शान्ति पुरस्कार मलाई प्रदान गरेकी छन्।’
उनले यसलाई ‘पारस्परिक सम्मानको अद्भुत संकेत’ भन्दै मचाडोलाई धन्यवादसमेत दिएका छन्। ट्रम्प र मचाडोबीचको यो पहिलो प्रत्यक्ष भेटघाट हो।
यसअघि यही जनवरी ३ मा अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अमेरिका लगेको बताइएको थियो। त्यस कदमको मचाडोले खुलेर प्रशंसा गरेकी थिइन्।
मदुरो अमेरिकाको नियन्त्रणमा परेपछि भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेज कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा रहेकी छन्। नोबेल शान्ति समितिले ‘भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन, तानाशाहीविरुद्धको संघर्ष तथा न्यायपूर्ण र शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको नेतृत्व’ गरेको भन्दै सन् २०२५ को नोबेल शान्ति पुरस्कार मचाडोलाई प्रदान गरेको थियो।
उक्त पुरस्कार आफूले पाउनुपर्ने दाबी गर्दै आएका ट्रम्प भने त्यस समयमा असन्तुष्ट देखिएका थिए।



