नियात्रा

ऐना हेर्दै हिमाल

दीपक ढकाल १९ पुष २०८२ १८:३६
84
SHARES
ऐना हेर्दै हिमाल

यात्रा गर्नु मेरो आदत बन्यो। यात्रा अनुभव र सिर्जनाको आधार हो भन्ने सकारात्मक सोचका कारण मैले यात्रालाई लतका रूपमा ग्रहण गर्न थालेँ। यात्राका क्रममा यात्री अन्तरसंवादमा रम्न पाउँछ। वरपरको परिवेश त्यतिबेला उत्प्रेरक बनेको हुन्छ भने यसैको उत्प्रेरणाले यात्रीको मनस्तलमा अन्तरसंवादका नवनव क्षितिज उघारिन्छन्। एक न एक वहानाको खोजीमा म भइ नै रहन्छु तर प्रयोजन भने यात्राबाट केही सिक्ने र आफूलाई थप रोमाञ्चित बनाउने। त्यसैले साथीभाइको समय मिले सामूहिक रूपमा र नमिले एक्लै पनि यात्रामा निस्कने मेरो रहर हुन्छ। यस पटकको यात्रा सुन्दरीजलदेखि धापड्यामसम्मको बन्यो।

म संलग्न भएको एक कलेजका केही उत्साही विद्यार्थीले मलाई पदयात्रामा निकै सुरुचिपूर्वक सोध्ने गर्थे। म केटाकेटीलाई यात्रामा सहभागी हुन र त्यसबाट धैर्यवान एवं शान्त बन्न निकै प्रेरित गर्थेँ किनभने प्रकृति धैर्य र सहनशीलताको प्रतिरूप हो।

मौसमी चक्रका अनेक  रङरूप देखिँदा, फेरिँदा पनि प्रकृतिको शान्त र सौम्यपनमा कुनै तलमाथि हुन्न। यस्तो धीरता मानिसमा पाउन कवै सम्भव होला। त्यसैले म केटाकेटीलाई जीवनमा आउने उतारचढावबाट विचलित नहुन र लक्ष्यमा अविचलित भई गतिवान रहन पदयात्रा गर्नुपर्छ भन्थेँ। ती उत्साहित हुन्थे। त्यसैले मेरा सहकर्मी विकास, रोशनलाई मैले पदयात्राको योजनाबारे बेलाबेला स्मरण गराउँथेँ भने उहाँहरू सुदिनको प्रतीक्षामा हुनुहुन्थ्यो। पदयात्राको कार्यक्रम बन्यो।

यस पटकको नेतृत्व दीपक सरले गर्ने भनेपछि मन हर्षित भयो। जाने दिन, कार्यक्रम, सहभागी हुने सदस्य सबै तय भयो। राजु महर्जन, विकास पौडेल, रोशन थापा, सपना खड्का, सम्झना महत र मलगायत विद्यार्थी पदयात्रामा निस्कियौँ। राजु सरले संस्थाको नेतृत्व र पदयात्राको अभिभावकीय जिम्मेवारी सम्हाल्नुभयो।

बिहान आठ पन्ध्रमा हामी सुन्दरीजलस्थित विद्युत्गृहको सामुन्ने रहेको उकालो उक्लियौँ । विद्यार्थी निकै उत्साहका साथा हिँड्न थाले। कोभन्दा को कमको मनोभाव तिनमा थियो। बालबालिकको स्वभाव नै देखेर सिक्ने र सिकेको देखाउने हुन्छ। त्यसैले छिटो हिँडे स्वाभिमान बढ्ने तिनको सोच थियो भने आफ्नो स्वभिमान देखाएर आनन्दित बन्ने रहर पनि।

शरीरमा सफा कपडा छैन। अनुहारमा उत्साह छैन। उमेरमै चाउरिएका अनुहार र सपनाविहीन बन्न पुगेको मनोभाव मैले निकै गौर गरेर हेरेँ। काठमाडौँको सहरी सम्पन्नताको नजिकमा रहेको ग्रामीण बस्तीमा गरिबीले छोडेका यी काला धब्बा बडो ननिको थिए।

तल कतै छङछङ र कतै कुलकुल गरेर बगेको खोल्सी। शीतल पवन, चरचुरुङ्गीका चिरबिर, उँभोतिर चट्टानी ओढार र कतै ती ओढार रसाएर झरेका पानीका मूल तथा धारा बढो अनौठोपन। हेर्दा चट्टानबाहेक केही देखिन्न तर सुशीतल जल प्रवाहित भएको छ।

प्रकृतिको चक्र र गति अनौठो। हामी कुनै कुरा पूरा नहुने विषयलाई व्याख्या गर्न उन्यूँ फुल्ने र ढुङ्गो टुसाउने भन्छौँ। त्यस्तै झल्को मिल्ने गरी ढुङ्गो रसाएको। प्रत्येक परिवेश र अवस्थाबाट सिकिने तर सिक्न अनुभूति र कल्पनाको सघन क्षमता हुनुपर्छ। कल्पनाबिना मानिस करिब निर्जीव भन्दा पनि हुन्छ किनभने कल्पना नै योजनाको आधार हो। सकारात्मक भावना सिर्जना गर्ने आधार पनि हो। जीवनलाई सरल र सुगम बनाउने अनि प्रकृतिका कलालाई अनुकरण गरेर मानवीय कलामा प्रतिविम्बन गर्ने आधार हो कल्पना।

केही बेरको चढाइपछि नेपाली सेनाको सुरक्षा जाँच स्थल आयो। राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनालाई हामीले आफ्ना केही विवरण दियौँ र यात्रा अघि बढायौँ। शान्त वन, चिसा सिढी, वरपर बढारकुँडार गरेर सफा बनाइएका मार्ग, खोल्सीबाट आएको कलकल आवाज, बिस्तारै गरम बन्दै गएको शरीर अनि अघिपछि गर्न हतारिएका केटाकेटी।

सुन्दरीमाईको मन्दिर झर्ने खुड्किले ओरालो, खोल्सीमा रहेको सुन्दरी माईको मन्दिर र साँघुरो फलामे पुल सबै नियाली अघि बढेपछि पारि भेटियो मोटर बाटो। यो बाटो मूलखर्क हुँदै उकालिने र धापड्यामसम्म पुग्ने बाटो थियो तर हामी पैदलयात्राबाट आनन्द लिने हेतुले निस्किएका कारण गाउँ प्रवेश गर्‍यौँ।

सूर्यका पहेँला रश्मि र उस्तै पहेँलिएको मूलखर्कको बस्ती निकै सुरम्य थियो। पुसको महिना भएका कारण चिसोले ग्रामीण जीवन अपेक्षाकृत रूपले सक्रिय बन्न भ्याएको थिएन। पाखामा टल्केका शीतबिन्दु, तिनलाई प्रकाशले सजाएर हीराझैँ टल्काएको दृश्य, बाफिन थालेको शरीर र बाहिरको परिवेशबाट मिलेको शीतलता यस्तो अनुभव भएको थियो।

मूलखर्कको ग्रामीण बस्ती उक्लने क्रममा देखिएको जीवन आँखाभरि नाच्न थाले। कतै स्कुले नानी चिसो पानीमा आफ्नै बाल्यक्रीडामा मग्न भएका, कतै पिङमा झुलेका, अधबैँसे र वृद्ध पुस्ता यसो गरुँ कि उसो गरुँको अन्यमनस्क भावमा आँगन तथा पिँढीका डिलमा बसेका।

शरीरमा सफा कपडा छैन। अनुहारमा उत्साह छैन। उमेरमै चाउरिएका अनुहार र सपनाविहीन बन्न पुगेको मनोभाव मैले निकै गौर गरेर हेरेँ। काठमाडौँको सहरी सम्पन्नताको नजिकमा रहेको ग्रामीण बस्तीमा गरिबीले छोडेका यी काला धब्बा बडो ननिको थिए। वरपर प्रशस्त जैविक विविधता छ तर तिनमा उपायोगिता सिर्जना गर्ने सीप र अनुभव छैन। खोल्सीमा कुलकुल पानी बगेको छ तर उन्नत प्रविधिको सिँचाइ र उत्पादन लिने योजना छैन। उब्जाउ माटो छ तर ठण्डीले जर्जर बनेको र रुख्खिँदै गएको भूमि छ। साधन आफैँसँग छ तर प्रयोग गर्ने उत्साह छैन।

यस्तो विडम्बनाले सहर नजिकको गाउँलाई छोपेको छ। त्यही सडकबाट विदेशी कम्पनीका पेय र खाद्य ओसारेर खान जाने तर त्यहीँको उत्पादनलाई विदेशसम्म कसरी पुर्‍याउने। त्यो अनुभव संस्थागत बनेन। व्यावसायिक बनेन। हामी खाली आर्काको देखासिकी गरेर आफ्ना मौलिक मूल्यलाई भष्मीमूत बनाउन मात्र उद्यत भयौँ। मसँग भएको राम्रोको खोजी भएन बरु अरूसँग भएको जस्तो पनि राम्रो देख्न थाल्यौँ। आम स्वभाव यस्तो बन्यो। फलतः अहिले बैँसमै गरिबीको डाम बोक्नुपर्‍यो।

मूलखर्कको पारिलो परिवेश र तेर्सो परेको लमतन्न बाटो निकै आनन्ददायक थियो। हिउँदको याम भएकाले पाखा सुकेका र शीतले टल्किएका थिए। पर क्षितिसम्म देखिएको सुन्दर दृश्य अति मनमोहक। डाँडापछि डाँडा अनि फेरि डाँडापछि डाँडा तहतह परेको अवस्था।

माथि नीलो गगन तल तरङ्गित छालतुल्य परिवेश यस्तो मनमोहक अवस्थाले द्रवीभूत बनायो। केटाकेटी रमाईरमाई हिँडिरहेका थिए। सहरका साँघुरा गल्ली र सवारीसाधनका कोलाहलबाट मुक्त भई हिँड्न पाउँदा ती निकै उमङ्गित थिए। कतै लप्सीका बोट त कतै ऐँसेलुका झिक्रा अनि कतै पहेँलिन थालेका विविध वनस्पति त कतै चर्न भर्खर छोडिएका गाईगोरु। यस्तो छविचित्र मूलखर्कको परिवेशमा सघन देखिए। हिउँदमा मात्र हिँड्न मिल्ने प्रकृतिको धुलौटे बाटो।

कतैकतै परेका योजना र विनियोजित बजेटअनुुसारका काम, कलेटी परेका ओठ, नीला अनुहार र फाटेका कन्थामा कामेका मजदुर पनि बाटामा भेटिए। बिहानबेलुका छाक टार्ने हेतुले सकी–नसकी काममा लागेका छन्। सपना सबैका आआफ्ना हुने नै भए। सुपरिवेक्षक केही रबाफिलो ढाँचामा थियो। ठेकदार अझै रबाफिलो ढाँचामा कतै होला।

यो देशमा श्रम गर्नेले मेरो भन्ने दिन आएन किनभने जसले श्रममा कम योगदान गर्छ राज्यको स्रोतमा उसैको बढी हिस्सा छ। न्यायपूर्ण र समानतामा आधारित समाज अझै बन्न सकेको छैन। जो धूर्त छ ऊ बाठोको रूपमा प्रशंसित हुन्छ। जो इमानदार र आफ्नो सोझो चिताएर खान्छ ऊ लाटो छ। लोसे छ। फुर्तिलो छैन। बालबालिकालाई यसैगरी व्यवहार गरिन्छ अनि ती बालबालिका हुर्केपछि हुने नै फुर्तिलो हो किनभने त्यसलाई सानैमा मनोवैज्ञानिक दबाब परेको हुन्छ। अनि यो समाज इमानदारले होइन धूर्तले चलाउँछ। फुर्तिलोले चलाउँछ। नियम र कानुनलाई फुर्तिलोले आफू अनुकूल व्याख्या गर्छ। यस्तो परिपाटी हाम्रो संस्कृति बन्छ अनि समग्र राष्ट्र नै धूर्तको धुर्त्याइँमा केन्द्रित बन्छ।

मूलखर्क उकालिने र धापड्याम तेर्सिन दोबाटो आयो। मैले भेटिएका यात्रीलाई सोधेँ। ड्याम तेर्सोतिर लागेर पुगिने रहेछ। वरपर वन छ। उस्तै प्रकृतिका बोट छन्। कतै पहेँला पात, कतै हरिया पात, शान्त वातावरण, प्रायः खोल्सीमा चिसा पानीका कुलकुल आबाज अनि यात्रीका निम्ति बनाइएका अस्थायी धारा यस्तो थियो परिवेश।

पारिलो घाम अनि शान्त वातावरण यसरी करिब एकघण्टा तेर्सिएपछि धापड्याम पुगिने सङ्केत मूलखर्कका स्थानीयको थियो। बाटो तर्पाएँतर्पाएँ हुँदै खोल्सीतिर ओरालियो। मैले केही भयको अनुभव पनि गरेँ किनभने त्यो स्थान धापिलो र ओसिलो ज्यादा भएका कारण भुइँघाँस पाइने थियो।

यस्तो जमिनमा खरायो, दुम्सी र अन्य तृणहारी जीव हुने सम्भावना बढी हुन्छ भने ती जीवमाथि खाद्यको स्रोतका रूपमा निर्भर हुने चितुवा र भालु पनि रहने गर्छ। त्यसैले जङ्गली जनावर उसको आहारा क्षेत्रमा डुल्ने र त्यतिबेला आक्रमण हुने डर पनि उत्तिकै हुन्छ। यसरी सेपिलो र धापिलो जमिनको यात्रामा डरका कारण ढक्क फुलेको मन केही पर पुग्दा अन्योलमा पनि पर्‍यो। एक त जङ्गलको बिच अनि दोबाटो।

बाटो यस्तो आधार हो जुन मानिसले आफ्नो उद्देश्यअनुसार चयन गर्न सकेन भने कुकुरले नपाएको दुःख पाउँछ। दुःखलाई पनि कुकुरले पाएकोसँग किन तुलना गरे पुर्खाले त्यो त थाहा भएन तर दुःखको चरम अनुभवचाहिँ कुकुरले गरेको हुने रहेछ। मन ढक्क भो। एक प्रकारको तानव जस्तो पनि मनमा चल्यो। केही बेरमा केही युवा आए र तिनले धापड्याम पुग्ने यो छोटो बाटो हो र म यही बाटोबाट पुगेको छु भनेपछि हामी पछि लाग्यौँ।

वनभित्र छिरियो। मानवका पाइलाले टेकेपछि बाटो बन्छ। गोरेटो बन्छ तर पहिला कुनै गन्तव्यका निम्ति वनमा यस्तो बाटो कसले बनाउँछ मेरो मनमा प्रश्न उठ्यो। तिनीहरूसँग कम्पास पनि थिएन होला। एक पटक भौँतारिएर अन्धाधुन्ध हिँडेपछि जहाँ पुगियो अनि फर्कँदा बाटो यो रहेछ भनेर अनुभव गरिने हो कि ! घना जङ्गलमा पहिलो पटक हिँड्न पनि त आत्मबल र आँट हुनुपर्ला।

जङ्गली जनावर त झन हुने नै भए किनभने त्यतिबेलासम्म त्यहाँ जनावरकै राज चलेको हुन्छ। यताबाट त्यता अनि त्यताबाट उता हुँदै जङ्गलको बिचमा अदृश्य गन्तव्यको दिशाबोध गर्नु र त्यसका निम्ति ज्ञात भएसम्म छोटो हुने बाटो निर्माण गर्नु त सामान्य कुरा हुँदै होइन। मेरो साथमा भएका केटाकेटी यही सोध्थे कि पहिला बाटो कसले बनायो यस्तो डरलाग्दो जङ्गल बिच। मलाई पनि केटाकेटीको सोच्ने तरिका र तर्कशक्ति अनौठो लाग्यो। जङ्गल बिच हिँड्दा हामीले कमै मात्र सोचेको तर अति विचारणीय विषय यही नै हो। जे होस् यस्तै आन्योल बिच करिब चालिस मिनेट सरासर हिँडेपछि खोल्सीमा ढुङ्गाको अजङ्गको थुप्रो देखियो। त्यो मिलाएर राखिएको थुप्रो पनि थियो अनि अनुमान भयो पक्का पनि धापड्यामको कुनै एक साइड होला। त्यो देखेको करिब पाँच मिनेटमा हामी पुग्यौँ नीलो पानीको तरङ्गित दह– धापड्याम।

तीनतिर हरियो वनका बिच नीलो दह। कञ्चन पानी हावाको गतिसँगै प्रवाहित र चञ्चल भएको छ। शान्त परिवेश छ र पारिलो दक्षिणी मोहोडा फर्किएको पाखो छ। प्रत्येक बोट प्रकाशको चमकका कारण गन्न सकिने जस्तो। यस्तो थियो त्यहाँको परिवेश।

पहाडले छेक्न बाँकी एक किनाराबाट देखियो हिमाल। आहा! त्यो मनोहारी दृश्य। पानीको सुन्दर पोखरीको नीलोपनलाई सरर हेर्दै पर डिलमा पुग्दा त पारि क्षितिजमा हाँसेका सेता हिमाल। बिचमा कुनै पहाडको रोकतोक छैन। प्रकृतिको कला पनि अचम्म ती हिमाल कति परका पहाडमा जमेका जलकण र बरफ हुन् तर यति वरसम्म तिनले आफ्नो मानोहारीपन देखाएका छन्। मौसम खुलेको छ। आकाश नीलो छ।

वास्तवमा आकाशको रङ कस्तो हुन्छ त्यो अर्को रहस्यको विषय हो। यो विशाल अन्तरिक्षमा गतिवान् एक पिण्ड पृथ्वीको यस भूतलबाट आकाश नीलो थियो भन्नु पनि एक प्रकारको अज्ञानता हो किनभने मैले देखेको नीलो आकाश अरू कसैले अन्त कतै अर्कै रङको देखेको थियो।

क्यामराको लेन्स मिलाएर खिचिएको र हिमालको काखमा नीलो समुद्र यो कहाँ होला भनेर मैले सामाजिक सञ्जालका केही पोस्ट गौर गरेर हेर्ने गरेको पनि थिएँ। आज त्यही अनौठो स्वर्गीय अनुभवलाई प्रत्यक्ष भोग्ने मौका मिल्यो। मन हर्षले चङ्गा भो। कपासको थुङ्गा भो। प्रकृतिको लीला देखेर उमङ्ग भो।

त्यो हिमाल, बिचका होचा पहाडका तरेली, त्यस्ता तरेलीका अनगिन्ती स्वरूप अनि ती स्वरूप पार गरेर वर रहेको यो पानीको पोखरी यी सबै प्रकृतिका लीला हुन्। यिनका चक्रीय सन्तुलन हाम्रो जीवन हो। यिनले गति रोकेका दिन अर्थात् जलकण जमेर हिउँ नबनेका दिन, पहाडका उच्च धरातलबाट माटो सिँचेर ती नबगेका दिन, नदीले बग्दा बगाएका माटो र गेग्रान क्रमशः समथर भागमा नथिग्रिएका दिन, त्यसरी थिग्रिएका धापिला र सीमसार क्षेत्रले पानी नछानेका दिन, चिस्यान र ओसका कारण वनस्पति नउम्रिएका दिन अनि त्यस्ता जैविक विविधता पान गर्न नपाएका दिन के हाम्रो जैविक प्रणाली सुरक्षित रहला त!

मेरो मनमा यस्ता अनुभूति खेल्न थाले। अवश्य पनि जुन जैविक आधारमा हाम्रो शरीरको रसायन तथा यसको सन्तुलन प्रणाली बनेको छ त्यही नै प्रतिकूल बन्दा हाम्रो अस्तित्व रहने त प्रश्न नै रहेन।

जैविक तथा पर्यावरणीय विविधता नेपालको अनुपम पक्ष हो। हुन त अन्य देशलाई पनि प्रकृतिले केही न केही विशिष्टता दिएकै हुन्छ। आफूसँग नभएको पक्षमा गुनासो गरेर मानसिक रुग्णतामा बाँच्नुको कुनै अर्थ रहन्न। त्यसैले विश्वका अन्य देशलाई प्रकृतिले जे प्रदान गरेको छ त्यसैमा उपयोगिता सिर्जना गरेका छन् वा भनौँ आफ्ना औद्योगिक र बजार विनिमय प्रणालीलाई उपलब्ध साधन र स्रोत अनुकूल नवप्रवर्तनमा जोडेका छन्।

यस कोणबाट सोच्दा नेपाल माटो, पानी र वनस्पतिको स्वर्णभूमि हो। यहाँको माटो सुहाउँदो जैविक विविधता प्रवर्धन गर्न सके, यहाँको पानीलाई प्रशोधन गरी विदेश निर्यात गर्न सके र घरायसी तथा औद्योगिक प्रयोजनले प्रयोगमा ल्याउन सके तथा यहाँका हिमाली रोमाञ्चक परिवेशलाई विदेशीले मनोरञ्चन गर्ने उच्च पर्वतीय पर्यटनका आधार निर्माण गर्न सके नेपालीले विदेशीका दैलामा न्याम्म अनुहार लगाएर स्वाभिमान दाउमा राख्नु पर्ने थिएन। सुन्दारता भनेको मौलिक पहिचान र परम्परा जोगाउने तथा सुरक्षित गर्ने विषय हो। सबै अर्काका कुरा ग्रहण गरेपछि आफ्नोपन समाप्त हुन्छ र आफ्नोपन सकिएपछि दुःखी हुनुको विकल्प रहन्न। मेरा मनमा यस्ता भावना प्रशस्त खेले।

ब्रह्माण्डको गति पनि अनौठो छ। अध्यात्मवादी यसलाई लीला मान्छन्। वास्तवमा मानव आफैँलाई बुझन नसक्ने प्राणी हो भने यो ब्रह्माण्डको भेउ झन् कसरी पाओस्। त्यसैले यो लीला नै पनि हो।

करिब डेढ घण्टाको बसाइमा हामीले साथमा लगेका खानपान खायौँ र बाँकी सम्भव हुने सम्मका किनारका दृश्य अवलोकन गयौँ। धापड्याम जताबाट हेरे पनि नीलो पानीले स्वागत गरे जस्तो, जति हेर्‍यो  हेरिरहुँ जस्तो, मन भनेको भावना हो। भावनको स्रोत कल्पना हो। कल्पना जति पनि गर्न सकिने हुन्छ तर जीवन त यथार्थ र भौतिक मानमा नै बाँच्नुपर्ने हुन्छ।

घाम ओझेल पर्न थालेपछि सिरसिर चल्न थालेको बतास र चिसिन जाँदा त्यसले लिने स्याँठको डर थियो। जङ्गलको बिचमा रमाउन दिनको उज्यालो मात्र ठिक जब रात्रीकालीन निशाचरको समय आउँछ हामी उषाचरका अनुयायीले स्वतः आफ्नो सीमा बोध गर्नुपर्ने हुन्छ, आर्थत् फर्कनुपर्ने हतार सुरु भयो। मैले केटाकेटीलाई केही अत्याएँ। घाम ओझेल परेपछि हुन सक्ने सम्भावित वातवरणीय प्रतिकूलता र जनावरको भय भनेँ। तिनले सरासर माने र म तिनको अगुवा बनेर मन भारी बनाई धापड्यालाई पछि पार्न बाध्य भएँ।

जुन बाटोले गन्तव्यमा पुर्‍याउँछ आरम्भ बिन्दुमा फर्कने पनि त्यही बाटो हुन्छ। हुनुपर्छ भन्ने बाध्यता रहन्न तर जङ्गलको यात्रामा त बाटा अनेक हुन्नन्। त्यसैले गमनका चाप पछ्याउँदै आगमन गर्नैपर्ने हुन्छ। करिब दुई बजेर पन्ध्र मिनेट जाँदा हामी फर्कियौँ। फर्कँदा अघिका बाटा उल्टोमा परिणत भए, अर्थात् अघिका उकाला अहिले ओराला, अघिका ओराला अहिले उकाला, अघिका बाफिएको शरीर अहिले चिसिने क्रम, अघि देखिएका रापिला रश्मि अहिले मलिन, अघि तिर्खामा एक प्रकारको सुस्वादु बनेका मूल अहिले घाँटी बाँध्ने ठण्डी। यस्ता थिए फर्काइका पल।

करिब डेढ घण्टा हिँडेपछि पुनः मूलखर्कको चिसिन थालेका बस्ती पुगियो। घाम डाडाँपारि पुग्ने छाँटमा थियो। बिहानको क्षितिज अहिले शिरबन्दी लगाएकी बेहुली बन्ने तरखरमा थिइन्। क्रमशः पहेँलिएको सूर्यका रश्मि युवतीको शिरैमा शिरबन्दी बन्न लागेको थियो। ब्रह्माण्डको गति पनि अनौठो छ। अध्यात्मवादी यसलाई लीला मान्छन्। वास्तवमा मानव आफैँलाई बुझ्न नसक्ने प्राणी हो भने यो ब्रह्माण्डको भेउ झन् कसरी पाओस्। त्यसैले यो लीला नै पनि हो। मूलखर्कको ओरालो लाग्दा देखिएको दृश्य अनौठो। माथि शैलमा सूर्यास्तको बिम्ब र तल काठमाडौँका खोँचमा जूनकीरीतुल्य चम्कन लागेका बत्ती बडो अनौठो थियो।

थाकेका केटाकेटी र झर्न बाँकी रहेको वनको बाटो दुवै मेरा मनमा एकै पटक ढक्क गरे। केटाकेटीको उत्साह कम थिएन। केहीमा थकान अनुभव हुनु स्वाभाविक पनि हो किनभने सबैको शरीर एकैनासको पनि त हुन्न। यसरी सुन्दरी माईको मन्दिर र सेनाको चेक प्वाइन्टलाई पनि पछि पार्दै करिब सवा पाँच बजे म सुन्दरीजल बजार झरेँ।

पारि काठमाडौँको प्राणरक्षा गर्ने पिउने पानीको सङ्कलन भण्डार र वारि विद्युत् गृहका निम्ति पानी आपूर्ति गर्न झारिएको बडेमानको ढ्वाङ। अनि बोटका हाँगाका अन्तरकुन्तरबाट छिरेका मलिन प्रकाशले स्पर्शित भएको शरीर लिएर म ओरालो लागेँ। केही शिथिल र क्लान्त शरीर तर धापड्यामको सौन्दर्यले मोहित भएको भाव बोकेर यस पटकको यात्रा पनि विश्राम गरेँ। हरेक यात्रा जब आरम्भ गरिन्छ भने त्यसको अन्त्य त हुने नै हुन्छ किनभने भौतिकताका हरेक व्याप्तिलाई भावनाले नाप्न जति सजिलो हुन्छ शरीरले नाप्न कहाँ सहज छ र! अस्तु!

प्रकाशित: १९ पुष २०८२ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast