स्थायी र करार शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराइने

हिमाल प्रेस १ माघ २०८२ १०:५३ | Thursday, January 15, 2026
202
SHARES
स्थायी र करार शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराइने

बागलुङ- तमानखोला गाउँपालिकाले आ.व. २०८२/०८३ का लागि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई स्थानीय भत्ता माग गरी विवरण पेस गर्न आग्रह गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालयअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचना जारी गर्दै नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७१ सालको निर्णय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८२/०४/१२ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार स्थानीय भत्ता उपलब्ध गराइने स्पष्ट पारेको हो।

सूचनाअनुसार साविकका गाउँ विकास समिति ‘घ’ वर्गमा पर्ने भएकाले स्वीकृत दरबन्दीमा कार्यरत स्थायी शिक्षक तथा स्वीकृत दरबन्दीमै कार्यरत अस्थायी करार शिक्षकले वर्षभरको १०.५ महिनाका दरले स्थानीय भत्ता पाउनेछन्। उक्त भत्ता दोस्रो त्रैमासिकदेखि माग गरी शिक्षा, युवा तथा खेलकुद शाखामा पठाउन विद्यालयलाई अनुरोध गरिएको छ।

निर्धारित दरअनुसार प्राथमिक तह तृतीय श्रेणीका शिक्षकले मासिक २ हजार ७६० रुपैयाँ, निम्न माध्यमिक तह तृतीय श्रेणीले ३ हजार २१० रुपैयाँ, माध्यमिक तह तृतीय श्रेणीले ३ हजार ९४० रुपैयाँ, माध्यमिक तह द्वितीय श्रेणीले ५ हजार २५० रुपैयाँ र माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ६ हजार ७ सय रुपैयाँ स्थानीय भत्ता पाउनेछन्।

शाखा प्रमुख दुर्गादत्त घिमिरेद्वारा जारी सूचनामा समयमै आवश्यक कागजातसहित विवरण पठाउन सबै सामुदायिक विद्यालयलाई आग्रह गरिएको छ।

 

प्रकाशित: १ माघ २०८२ १०:५३ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast