‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ को लोकार्पण

हिमाल प्रेस ६ माघ २०८२ १३:१७ | Tuesday, January 20, 2026
24
SHARES
‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ को लोकार्पण

काठमाडौँ- साहित्यकार तथा समालोचक प्रा.डा.दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थको लोकार्पण भएको छ।

वानीरा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा समालोचक प्रा.डा.वासुदेव त्रिपाठीले उक्त ग्रन्थको लोकार्पण गरेका हुन्।

प्रा.डा.दयाराम श्रेष्ठले कथाकार इन्दिरा प्रसाईका कथाबारे समालोचना गरेर न्याय गरेको समालोचक डा. त्रिपाठीले बताए। उनले भने, ‘नेपाली कथा साहित्यका आधिकारिक विशेषज्ञ प्रा.डा.दयाराम श्रेष्ठले सिद्धहस्त कथाकार इन्दिरा प्रसाईका कथाबारे समालोचना गरेर ठूलो न्याय गर्नुभएको छ।’

लेखक प्रा.डा. श्रेष्ठले ग्रन्थमा आफूले इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्रको विवेचना र मीमांसा गरेको उल्लेख गरे। उनले भने, ‘यस कृतिमा कथासम्बन्धी आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको छु। यो मेरो प्रयोगात्मक अध्ययनको नमुना हो र साथै मेरो अभियानको प्रथम कोसेली पनि हो।’

समालोचक प्रा. केशव सुवेदीले उक्त ग्रन्थलाई नेपाली कथा समालोचना परम्पराको नव आयाम रहेको बताए। उनले भने, ‘यो ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नव आयाम हो र कथाका अध्येता अनुसन्धाताहरूका लागि यसले मार्गनिर्देशन गर्नेछ।’

कार्यक्रममा कथाकार इन्दिरा प्रसाईले उक्त ग्रन्थ आफ्नो लेखनयात्राको स्वर्णिम उपलब्धि बनेको धारणा राखिन्।

ग्रन्थ नइ एकेडेमीबाट प्रकाशित गरिएको हो। त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा.दयाराम श्रेष्ठ नेपाली कथा साहित्यका प्रथम विद्यावारिधि हुन्। उनले छत्तीस वर्ष प्राध्यापन गरे। उनका तीस वटा कृति प्रकाशित भइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast