काठमाडौँ- फिल्म ‘कुमारी’ टिम र सांगीतिक ‘ब्याण्ड केहर एन्ड द लुङा’ मिलेर म्युजिकल कन्सर्ट गर्ने भएका छन्। कन्सर्टको नाम ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ राखिएको छ।
उपत्यकामा एक कार्यक्रममार्फत ट्रेलर सार्वजनिक गर्दै टिमले कन्सर्टबारे जानकारी दिएको हो। ब्यान्डसहित कन्सर्टमा फिल्मका कलाकार अभिशेक खड्का, आकृति राजभण्डारी र निर्देशक दिनेश राउतसहितको समूह उपस्थित हुनेछन्।
फिल्ममा उक्त ब्याण्डको गीतलाई केन्द्रमा राख्दै नेपालगञ्ज, पोखरा, चितवन, काठमाडौँ र दमकमा लाइभ म्युजिकल कन्सर्ट हुनेछ। जसअन्तर्गत माघ १ गते नेपालगञ्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौँ र माघ १७ गते दमकमा लाइभ कन्सर्ट हुनेछ।
फिल्मको गीत ‘डोको बुन्ने निगालो चोयाले’ चर्चित बनेको छ। गीतमा केहर सिंह लिम्बूको स्वर, सागर लामिछाने मगर र सुमन तामाङको शब्द, तथा सुमन तामाङ र केहर सिंह लिम्बूको संगीतमा बनेको छ।
देशव्यापी लाइभ कन्सर्ट टुरमार्फत फिल्म र संगीतलाई एउटै उत्सवमा रूपान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको निर्देशक दिनेश राउतले बताए।
विकास सुवेदीको पटकथा लेखन रहेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्। प्रेम कथामा आधारित फिल्म आगामी माघ २३ गते प्रदर्शन हुनेछ।



