प्राथमिक उपचार र जीवनरक्षा सीपमा केन्द्रित जुनियर रेडक्रस कन्क्लेभ

हिमाल प्रेस १७ माघ २०८२ २०:३२ | Saturday, January 31, 2026
26
SHARES
प्राथमिक उपचार र जीवनरक्षा सीपमा केन्द्रित जुनियर रेडक्रस कन्क्लेभ

इटहरी– नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको आयोजनामा तरहरामा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ सम्पन्न भएको छ।

२५ विद्यालयका ३२५ विद्यार्थी तथा शिक्षक सहभागी कन्क्लेभमार्फत प्राथमिक उपचार, विपद् व्यवस्थापन, जीवनरक्षा सीप र सिर्जनात्मक गतिविधिसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो।

कन्क्लेभको पहिलो दिन उद्घाटन कार्यक्रमसँगै पिस मार्च, रक्तदान, रक्त समूह परीक्षण, विद्यालयस्तरीय प्रदर्शनी, डेन्टल क्याप वितरण, रेडक्रस परिचय प्रशिक्षण तथा विपद् व्यवस्थापन तालिम आयोजना गरिएको थियो। सोही दिन विद्यार्थीमा निहित प्रतिभा उजागर गर्ने उद्देश्यले ट्यालेन्ट हन्ट कार्यक्रम समेत गरिएको थियो।

ट्यालेन्ट हन्टतर्फ फुजिसान सगरमाथा बोर्डिङ स्कुलका सुमित विश्वकर्मा प्रथम, तेह्र बालबालिका विद्यालयकी रोशिका खड्का द्वितीय र तरहरा मोडेल एकेडेमीकी समारिका खड्का तृतीय भएका छन्।

विश्वकर्माले गीत, खड्काले नृत्य तथा समारिकाले मन्तव्य प्रस्तुत गरेकी थिइन्। पहिलो दिनको कार्यक्रमको अन्त्यमा बालगायक रिजन डाँगीले सांगीतिक प्रस्तुति दिँदै सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए।

उपशाखाका सभापति उमेश राईका अनुसार कन्क्लेभमा २५ वटा विद्यालयका ३२५ जना विद्यार्थी तथा शिक्षक सहभागी थिए। दोस्रो दिन स्थानीय स्थल अवलोकन, डेन्टल स्वास्थ्य सचेतना, सञ्चार तथा नेतृत्व विकास, प्राथमिक उपचारका सिद्धान्त र जीवन सहयोग सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो।

पहिलोपटक आयोजना गरिएको कन्क्लेभमार्फत सहभागी बालबालिकालाई प्राथमिक उपचारका आधारभूत सिद्धान्त र जीवनरक्षा सीपसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको सभापति राईले जानकारी दिए।

कार्यक्रममा सुनील तिम्सिना, डा. मेघा केसी, सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधि, उमेश सुवेदी, राम पाठक र उत्तम पौडेललगायतले आ–आफ्ना विषयमा प्रशिक्षण दिएको उपशाखाका सचिव होमनाथ खड्काले बताए। उपशाखाका उपसचिव तथा कार्यक्रम संयोजक सुमन रेग्मीका अनुसार विद्यार्थीहरूको सिर्जनशीलता, नवप्रवर्तन, आपतकालीन तयारी, सुरक्षित व्यवहार तथा मानवीय सेवासम्बन्धी आधारभूत सीप विकास गर्ने लक्ष्यसहित कन्क्लेभ आयोजना गरिएको हो।

प्रकाशित: १७ माघ २०८२ २०:३२ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast