जसपा नेपालले सार्वजनिक गर्‍यो २७ बुँदे चुनावी प्रतिबद्धता, संविधान संशोधन प्राथमिकतामा

हिमाल प्रेस १३ माघ २०८२ १५:१२ | Tuesday, January 27, 2026
18
SHARES
जसपा नेपालले सार्वजनिक गर्‍यो २७ बुँदे चुनावी प्रतिबद्धता, संविधान संशोधन प्राथमिकतामा जसपा नेपालको पार्टी कार्यालय

काठमाडौँ- राजनीतिक दलका उम्मेदवारहरू घोषणापत्रबिना नै चुनावी प्रचारमा जुटिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालले २७ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टीले २०७९ को निर्वाचनझैँ यसपटक पनि संविधान संशोधनको मुद्दालाई प्रमुख प्राथमिकतामा राखेको छ।

जसपा नेपालले शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा परिवर्तन गर्दै राष्ट्रिय समस्याको समाधानका लागि संविधान संशोधन वा पुनर्लेखन आवश्यक रहेको उल्लेख गरेको छ। राष्ट्रिय जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना गर्ने र जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीसहित समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसदीय संरचना लागु गर्नुपर्ने पार्टीको प्रतिबद्धता छ।

पार्टीले जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा उठाइएका न्यायोचित माग र मुद्दालाई सम्बोधन गर्ने जनाएको छ। भ्रष्टाचारमुक्त समाज निर्माणका लागि भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता, सुशासन र पारदर्शिता सुनिश्चित गरिने उल्लेख गर्दै सरकारले विगतमा भएका सबै प्रकारका भ्रष्टाचार र काण्डहरूको छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता जनाएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको अनियमितता, अन्यौलता र स्तरहिनता अन्त्य गरी सबै नागरिकका लागि समान, विज्ञान र प्रविधियुक्त, व्यावसायिक तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने तथा रोजगारीको जिम्मेवारी राज्यले लिनुपर्ने जसपा नेपालको धारणा छ।

अति गरिब, विपन्न, लोपोन्मुख समुदाय, सीमान्तकृत दलित र महिलाका लागि छात्रवृत्ति, नि:शुल्क शिक्षा, प्राविधिक तालिम र रोजगारीको व्यवस्था गरिने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ।

विगतमा राजनीतिक नियुक्तिहरू भागबण्डाको आधारमा गरिएको आरोप लगाउँदै जसपा नेपालले अब योग्यता, क्षमता, अनुभव र योगदानका आधारमा समानुपातिक समावेशी नियुक्ति गरिने व्यवस्था लागु गरिने जनाएको छ।

प्रदेशस्तरमा प्रहरी र कर्मचारी समायोजन गरी प्रदेश प्रहरी, प्रदेश कर्मचारी र प्रदेश कानुनको व्यवस्था गर्ने, संघ, प्रदेश र स्थानीय तहमा जनसंख्या र मानव विकास सूचकांकका आधारमा बजेट, जनशक्ति र स्रोतसाधनको न्यायोचित वितरण गरिने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ।

कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै वैज्ञानिक भूउपयोग नीति लागु गरी कृषि क्रान्तिमार्फत कृषिको व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरण गर्ने तथा कृषिमा निर्भर गरिब जनताको जीवनस्तर सुधार गर्दै मुलुकलाई विकास, समृद्धि र समुन्नतितर्फ लैजाने ठोस नीति, कार्यक्रम र योजना कार्यान्वयन गरिने जसपा नेपालको भनाइ छ।

प्रकाशित: १३ माघ २०८२ १५:१२ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast