इजरायली दूतावासले मनायो होलोकस्ट स्मृति दिवस

हिमाल प्रेस १३ माघ २०८२ २१:४६
14
SHARES
इजरायली दूतावासले मनायो होलोकस्ट स्मृति दिवस

काठमाडौँ- राष्ट्रसंघद्वारा घोषित होलोकास्टका पीडितहरूको स्मरणार्थ अन्तर्राष्ट्रिय स्मृति दिवस कार्यक्रम काठमाडौँ स्थित इजरायली दूतावासको आयोजनामा सम्पन्न भएको छ। ‘जिक्रोन बासालोन- मेमोरी इन द लिभिङ रुम’ शीर्षकमा आयोजित सो कार्यक्रममा दोस्रो विश्वयुद्धका क्रममा नाजीशासक र सहयोगीद्वारा मारिएका ६० लाख भन्दाबढी यहुदीहरूको सम्झना गरियो।

यस वर्षको विश्वव्यापी नाराअन्तर्गत ‘गरिमा र मानव अधिकारका लागि होलोकास्ट स्मरण’ विषयमा होलोकास्टका क्रममा ६० लाख बढी यहुदीहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। संयुक्त राष्ट्रसंघको महासभा-२००५ले  हरेक जनावरी २७ लाई  होलोकास्टका पीडितहरूको स्मरणार्थ अन्तर्राष्ट्रिय स्मृति दिवसको रुपमा स्मरण गर्ने संकल्प पारित गरेको हो। सोही वर्षदेखि नै यो दिन पीडितहरूको स्मरणार्थ होलोकस्ट दिवसका कार्यक्रम हुँदै आएको छ।

कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत श्मुलिक अरी बासले जातीय विभेद र कुनै पनि जातिलाई निर्मूल पार्ने योजना मानव इतिहासकै सबैभन्दा कालो धब्बा भएको बताए। उनले यस्ता अमानवीय घटना भविष्यमा कहिल्यै दोहोरिन नहुनेमा जोड दिँदै युवा पुस्तालाई यसबारे शिक्षित बनाउनुपर्ने धारणा राखे।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले पीडितहरूप्रति समवेदना प्रकट गर्दै होलोकस्ट घटनाले नै विश्वलाई मानव अधिकारको विश्वव्यापी घोषणापत्र (१९४८) र नरसंहारविरुद्धको महासन्धि बनाउन बाध्य पारेको उल्लेख गरे। नेपाल ती महत्त्वपूर्ण महासन्धिहरूको पक्ष राष्ट्र रहेको स्मरण गर्दै उनले सबै मानिसले मर्यादा र समानताका साथ बाँच्न पाउने विश्वको खाँचो रहेको औंल्याए।

कार्यक्रममा होलोकस्टकी ‘सर्भाइभर’ सोफिया गेलरले आफ्ना हृदयविदारक भोगाइहरू सुनाएकी थिइन्। कार्यक्रममा मिस्टर डुगोको भिडियो पनि प्रदर्शन गरिएको थियो, जसले आफ्नो स्वतन्त्रता र जीवनको उत्सव मनाउन हरेक वर्ष जनवरी १८ मा (फालाफेलु ) एक प्रकारको इजरायली खाजा खाने अनौठो र सकारात्मक परम्परा सुरु गरेका थिए।

स्मृति कार्यक्रममा जर्मनीका राजदूत उडो भोल्ज र अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले पनि आफ्ना विचारहरू व्यक्त गर्दै घृणा र जातीय द्वेषविरुद्ध एकजुट हुनुपर्ने सन्देश दिएका थिए। यस्तै कार्यक्रममा नेपाली विद्यार्थीहरूले सांगीतिक प्रस्तुति पनि दिएका थिए। कार्यक्रममा उच्च सरकारी अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता थियो।

प्रकाशित: १३ माघ २०८२ २१:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast