राष्ट्रियसभामा कांग्रेसका तिमिल्सिनाले टिकट पाएपछि बुद्धिजीवी उत्साहित

हिमाल प्रेस २५ पुष २०८२ १५:०३
1.0k
SHARES
राष्ट्रियसभामा कांग्रेसका तिमिल्सिनाले टिकट पाएपछि बुद्धिजीवी उत्साहित

पोखरा- राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट जगत तिमिल्सिनाले टिकट पाएपछि पेसागत बुद्धिजीवीहरू उत्साहित भएका छन्। माघ ११ गते हुने राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट अन्य समूहमा गठबन्धनतर्फबाट कांग्रेसका तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्।

संविधानले राष्ट्रियसभालाई बौद्धिक तथा अनुभवी वर्गको प्रतिनिधित्व गर्ने थलोका रूपमा परिकल्पना गरे तापनि व्यवहारमा सो मर्म पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको विषयमा पेसागत बुद्धिजीवीहरूका तर्फबाट डाक्टर, इन्जिनियर, वकिल, पत्रकार आदिले राष्ट्रियसभामा बुद्धिजीवीहरूबाट पनि प्रतिनिधित्व हुनुपर्छ भनेर विगत लामो समयदेखि कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका थिए।

पछिल्लो समयमा पनि राष्ट्रियसभामा प्रतिनिधित्वलगायतका विषयमा कांग्रेसका सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालालगायतलाई ज्ञापनपत्रसमेत बुझाएको संघका केन्द्रीय सचिव डा. विष्णु पोखरेलले बताए।

सचिव डा. पोखरेलले तिमिल्सिनालाई राष्ट्रियसभा सदस्यको  उम्मेदवार बनाएर पार्टीले बुद्धिजीवीको एउटा माग सम्बोधन गरेको बताए।

तिमिल्सिना लामो समयदेखि शैक्षिक र राजनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा छन्। पोखरेलले भने, ‘तिमिल्सिना संगठन निर्माण, नीति बहस र नेतृत्व विकासमा अनुभवी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।’

प्राध्यापकहरूको प्रतिनिधित्व गर्दै तिमिल्सिनाले प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालमा केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय महासचिव हुँदै केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। संगठनलाई सुदृढ बनाउँदै शैक्षिक मुद्दा राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा ल्याउन उनको भूमिका उल्लेखनीय रहँदै आएको निकट प्राध्यापकहरू बताउँछन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका-७ का ५५ वर्षीय तिमिल्सिना कांग्रेसको १२औँ, १३औँ र १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा चयन भएका थिए। पोखरेलले भने, ‘पार्टीका यी तीनवटै महत्त्वपूर्ण महाधिवेशनमार्फत नीति निर्माण, संगठन सुदृढीकरण र लोकतान्त्रिक अभ्यासमा उहाँको सक्रिय सहभागिता रहँदै आएको छ।’

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश संयोजक सापकोटाले तिमिल्सिनाले राष्ट्रियसभामा टिकट पाएपछि आफूहरू उत्साहित भएको बताए। उनले भने, ‘हामीले धेरै पहिलादेखि पार्टी सभापतिलाई माग गर्दै आएका थियौँ। सोही माग सम्बोधन गरेर पार्टीले तिमिल्सिना सरलाई मनोनयन गराएको छ। यो निर्णय न्यायपूर्ण र सान्दर्भिक छ। अब हामी पेसाकर्मीहरू र बुद्धिजीवीहरूको आवाज राष्ट्रियसभामा लैजान सकिन्छ। त्यसैले हामी उत्साहित भएका छौँ।’

‘बल्ल हाम्रो माग सम्बोधन भएको छ’, नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले भने, ‘अब पेसागत बुद्धिजीवीको आवाज राष्ट्रियसभामा उठ्नेछ। हामी खुसी छौँ।’

नेपाली कांग्रेसको पेसागत बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौलाले तिमिल्सिनालाई टिकट दिएर कांग्रेस नेतृत्वले पेसागत बुद्धिजीवीले लामो समयदेखि अघि सार्दै आएको माग पूरा गरेको बताइन्।

उनले भनिन्, ‘राष्ट्रियसभामा पेसागत बुद्धिजीवीबाट प्रतिनिधित्व हुने भएको छ। यो हाम्रा लागि खुसीको कुरा हो।’

यस्तो छ गण्डकीको मतभार

राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने व्यवस्था छ। कास्की जिल्ला अदालतका न्यायाधीशसमेत रहेका निर्वाचन अधिकृत हिमलाल बेलबासेका अनुसार प्रदेश सांसदको मतदाता ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ छ।

गण्डकीमा ६० सदस्यीय प्रदेशसभा छ भने ८५ वटा पालिका छन्। पालिकातर्फ अध्यक्ष र उपाध्यक्ष गरी १७० मतदाता छन्। प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका सबैभन्दा धेरै २७ जना सांसद छन्। एमालेका २२ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ७ जना सांसद छन्। राप्रपाका दुई, तत्कालीन नेपाल समाजवादी पार्टी (नयाँ शक्ति-हाल प्रगतिशील लोकतान्त्रिक पार्टी) का एक जना सांसद छन्। स्वतन्त्र उम्मेदवार मनाङे कारागारमा छन्।

प्रदेशसभा तथा पालिकातर्फ सबैभन्दा ठूलो दल कांग्रेस र एमाले भएकाले गठबन्धन उम्मेदवारको जित सुनिश्चित जस्तै छ। प्रदेशसभातर्फ कांग्रेस एक्लैको १४३१ मतभार छ। एमालेको ११६६ छ।

पालिकातर्फ कांग्रेसका निर्वाचित ६७ जना प्रमुख उपप्रमुखबाट मतभार १२७३ हुन आउँछ। यसरी प्रदेश र पालिकाबाट कांग्रेसको कुल मतभार २७०४ रहेको छ।

एमालेको पालिकातर्फ ७० जना प्रमुख उप्रमुखबाट मतभार १३३० छ। प्रदेश र पालिका दुबै जोड्दा एमालेको २४९६ रहेको छ। नेकपाको ७ सांसदको मतभार ३७१ छ। पालिकामा ३० जनप्रतिनिधि (तत्कालीन एकीकृत समाजवादी) समत ५७० मतभार छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य एकीकत समाजवादीबाट निर्वाचित भएका थिए।

पालिकामा तीन पद जितेको राष्ट्रिय जनमोर्चाको मात्र ५७ मतभार छ। राप्रपाका दुई सांसदको मतभार १०६ मतभार छ। तत्कालीन नयाँ शक्तिको मतभार ५३ छ।

को को छन् उम्मेदवार?

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट अन्य र महिला क्लस्टरमा गरी ३/३ जनाले मनोनयन दर्ता गराएका छन्। गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा एमालेसमेतका उम्मेदवार गरी कुल ६ जनाले मनोनयन दर्ता गराएका हुन्। अर्को उम्मेदवारी दिनेमा नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमार्चा छन्।

गठबन्धनतर्फबाट महिला समूहमा एमालेकी सम्झना देवकोटाको मनोनयन दर्ता गरेकी छन्।  महिला कोटामै नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट गोमा लुइँटेल घिमिरे उम्मेदवार छन्। पोखरा-२५ निवासी ४० वर्षीया घिमिरे तत्कालीन माओवादी जनयुद्धकी घाइतेसमेत हुन्। जनमोर्चाबाट बागलुङका ५२ वर्षीया लक्ष्मी बास्कोटाको मनोनयन दर्ता भएको छ।

अन्य समूहमा गठबन्धनतर्फबाट कांग्रेसका तिमिल्सिनाले उम्मेदवार छन्। सोही समूहमा नेकपाबाट मनाङ जिल्लाको नासो-९ निवासी ७१ वर्षीय कपिल लामा र जनमोर्चाबाट पोखरा २२ निवासी ६६ वर्षीय शंकरप्रसाद बरालले मनोनयन दर्ता गराएका छन्। बराल जनमोर्चाका गण्डकी प्रदेश अध्यक्षसमेत हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast