आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको छु : गगन थापा

हिमाल प्रेस १० माघ २०८२ १७:२८ | Saturday, January 24, 2026
12
SHARES
आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको छु : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन्।

शनिबार काठमाडौँमा सर्लाहीका युवाहरुसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौँमा आफू सहजै जित निकाल्ने अवस्थामा रहे पनि यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन्।

काठमाडौं–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउँको निरन्तर सेवा गरिरहने उनको भनाइ छ। सभापति थापाले काठमाडौँ बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरे पनि आँट नपुगेको उल्लेख गरे।

‘म काठमाडौँ ४ का नागरिकको जीवनभर ऋणी रहनेछु। योपटकको निर्वाचन काठमाडौँ ४ मा मेरा लागि एकदमै सहज निर्वाचन थियो, तर सजिलो हुँदै गर्दा मैले अप्ठेरो रोजेको हुँ,’ थापाले भने,‘किनभने काठमाडौँ बाहिर जानुपर्छ भनेर मैले अठोट गरेको हुँ। योभन्दा पहिले पनि गरेको थिएँ, तर आँट गर्न सकिन। योपटक आँट्नुपर्छ भनेर आँटेको हो।’

कांग्रेसलाई मधेशले नै अहिलेको अवस्थामा ल्याएकाले मधेशसँगको मुखको औपचारिक सम्बन्ध जोडेर मात्रै नहुने भन्दै उनले मधेशको नेतृत्व गर्ने प्रयास गरेमात्रै आफू राष्ट्रिय नेता हुने धारणा राखे। आफू सो क्षेत्रमा निर्वाचित भए पाँच वर्ष मधेशका लागि आफ्नो काम समर्पित गर्ने उनले बताए। सभापति थापाले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीँबाट आफूले जनताको समस्या सुन्ने उल्लेख गरे।

‘मधेशसँग मुखको औपचारिक सम्बन्धमात्रै जोडेर हुँदैन, कांग्रेस पार्टीको जन्म पनि त्यहीँ भयो, कांग्रेस पार्टीलाई मधेशले नै बनाएको हो,’ उनले भने,‘मैले आँट गरेर भए पनि, जोखिम लिएर भए पनि आफूलाई मधेशमा समाहित गरेर एकपटक मैले मधेशको नेतृत्व गर्ने प्रयास गरेँ भन्ने बल्ल म राष्ट्रको नेता हुनसक्छु।’

त्यस्तै सभापति थापाले युवाहरुको भावनालाई आत्मसात गर्न पार्टीमा परिर्वतनको प्रयास गरेको र सफल भएको बताए। अहिलको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केही कमीकमजोरी भए पनि कुनै आर्थिक चलखेल नभएको उनले बताए।

प्रकाशित: १० माघ २०८२ १७:२८ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast