काठमाडौँमा उम्मेदवारलाई टिकट वितरण गरिसकेँ, चुनाव तोकिएकै मितिमा हुनुपर्छ : प्रचण्ड

हिमाल प्रेस ३ माघ २०८२ ७:२३ | Saturday, January 17, 2026
24
SHARES
काठमाडौँमा उम्मेदवारलाई टिकट वितरण गरिसकेँ, चुनाव तोकिएकै मितिमा हुनुपर्छ : प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषित मितिमै आम निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन्। शुक्रबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको जटिल परिस्थितिको एकमात्र विकल्प निर्वाचन भएको दाबी गरे।

गत भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’ र त्यस क्रममा भएको विध्वंसपछि देश असाधारण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै प्रचण्डले अब राजनीतिक प्रक्रिया अगाडि बढिसकेको बताए। निर्वाचन हुनेमा अझै कतिपयले आशंका गरिरहेको तर्फ संकेत गर्दै उनले भने, ‘समानुपातिक सूची बुझाइसकिएको छ, प्रत्यक्षतर्फको मनोनयन गर्ने दिन आइसक्यो, मैले त हिजो काठमाडौँमा उम्मेदवारलाई टिकट समेत वितरण गरिसकेँ।’

प्रचण्डले सरकार, राजनीतिक दल र जनता सबै चुनावी मानसिकतामा अगाडि बढिसकेकाले अब पछाडि फर्कने ठाउँ नरहेको स्पष्ट पारे। संविधान सभा निर्वाचनको समयमा पनि अन्तिम समयसम्म आशंका गर्नेहरू रहेको स्मरण गर्दै उनले अहिलेको व्यवस्था र संविधानको रक्षाका लागि निर्वाचन हुनैपर्नेमा जोड दिए। ‘चुनाव हुन्छ कि हुन्न भन्ने प्रश्नमा अल्झिनुभन्दा राम्रो तयारीका साथ अगाडि बढ्न म सबैलाई अपिल गर्छु,’ उनले भने।

मुलुकको वर्तमान चुनौती चिर्न निर्वाचन अनिवार्य रहेको भन्दै उनले यसलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए। उनले आफ्नो दल निर्वाचनको पूर्ण तयारीमा होमिसकेको सन्देश दिँदै कार्यकर्तालाई उच्च मनोबलका साथ मैदानमा उत्रन निर्देशन समेत दिए।

प्रकाशित: ३ माघ २०८२ ७:२३ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast