काठमाडौँ- नेपाल र फ्रान्सबीचको ‘ग्रिन रोड म्याप’ अन्तर्गत ब्लु वाटर इन्टेलिजेन्सले काठमाडौँमा ‘हाइड्रोनेपाल’ परियोजनाको सुरुवात गरेको छ।
मेसिन लर्निङ प्रविधिमा आधारित यो परियोजनाले नेपालका नदीहरूको बहावको पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ।
फेब्रुअरी २०२५ देखि कार्यान्वयनमा आएको यो पहल फ्रान्सको अर्थ, वित्त, औद्योगिक र डिजिटल सार्वभौमसत्ता मन्त्रालयको सहयोगमा सुरू गरिएको हो। नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा सञ्चालित यस आयोजनाले माथिल्लो कर्णाली, मस्र्याङ्दी, त्रिशुली र दूधकोशीजस्ता प्रमुख नदी बेसिनहरूमा जलविद्युत योजना र विपद् पूर्वतयारीमा सहयोग पु¥याउनेछ।
कार्यक्रममा नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्तेभलले फ्रान्सेली जलवैज्ञानिक मोडलिङ विशेषज्ञता र नेपालको ऊर्जा तथा जलवायु उत्थानशीलताको आवश्यकताबीचको यो संगम देख्न पाउनु गर्वको कुरा रहेको बताए।
ब्लु वाटर इन्टेलिजेन्सका जलविज्ञानीहरूअनुसार यो प्रविधिले जलविद्युत आयोजनाहरूको व्यवस्थापन र नदी बेसिनको स्रोत परिचालनमा क्रान्तिकारी परिवर्तन ल्याउने क्षमता राख्दछ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.दीपक अर्याल, जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक मोनदेवी श्रेष्ठ र इपानका अध्यक्ष डा.गणेश कार्कीलगायतका विज्ञहरूले जलस्रोत व्यवस्थापनमा प्रविधिको महत्वबारे चर्चा गरेका थिए।



