काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक संकटबाट निकाल्न कांग्रेसलाई निर्वाचित गराउन अनुरोध गरेका छन्।
धनुषा–३ बाट कांग्रेसका उम्मेदवार रहेका निधिले सहिद दिवसको अवसर पारेर शुक्रबार जनकपुरधाम–१६ स्थित कपिलेश्वरबाट चुनाव अभियान आरम्भ गर्दै यस्तो बताएका हुन्। वर्तमान सरकार जवाफदेह नरहेको बताउँदै उनले नागरिक सरकार अपरिहार्य रहेको बताए।
‘यो सरकार नागरिकले बनाएको सरकार होइन, सरकार नागरिकप्रति जवाफदेही पनि छैन,’ उनले भने,‘संविधान र लोकतन्त्र क्षतिग्रस्त अवस्थामा छ, त्यसलाई ट्र्याकमा ल्याउन कांग्रेसका उम्मेदवार जिताउन मेरो अनुरोध छ।’
निधिले विकास र युवाहरूको रोजगारी आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गरे। ढल्केबरदेखि जटहीसम्म सिक्सलेन सडक आफू भौतिकमन्त्री छँदा निर्णय गरेर निर्माण गर्न लगाएको बताए। त्यस्तै जनकपुर–जयनगर रेलमार्गलाई ब्रोडगेज बनाउन भारतीय पक्षसँग आफूले पहल गरेको उल्लेख गरे।
उनले जनकपुरलाई प्रदेशको राजधानी बनाउन आफू गृहमन्त्री छँदा निर्णय गराउन लगाएको बताए। उनले भने,‘राजधानी तोक्ने विषयमा ठूलो छलफल चलेको थियो। म गृहमन्त्री भएको बेला निर्णय गर्न लगाएर जनकपुरलाई राजधानी तोक्न लगाएको हुँ।’
भौतिक विकासका साथै शैक्षिक क्षेत्रको विकासका लागि आफूले योगदान गरेको र आगामी दिनमा पनि निरन्तरता दिइरहने उनले बताए। राजर्षिजनक विश्वविद्यालय आफूले पहल गरेर जनकपुरधाममा स्थापना गर्न लगाएको उनले उल्लेख गरे।
कार्यक्रममा बोल्दै निधिको चुनाव परिचालनको नेतृत्व गरिरहेका प्रदेश सांसद एवं पूर्वप्रदेशमन्त्री रामसारोज यादवले जनकपुरसहित आसपासका क्षेत्रमा कांग्रेसले मात्र विकास विकास गरेको जिकिर गरे। उनले यो क्षेत्रको विकासका लागि नेता निधिको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।
नेता यादवले धनुषा–३ बाट निधिलाई विजयी बनाउन सम्पूर्ण कांग्रेस एकढिक्का रहेको जिकिर गरे।



