काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र नेकपा एमालेसँग गरिएको तालमेलप्रति असहमति जनाएका छन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले पार्टीभित्र पर्याप्त छलफल नगरी केही नेताहरूले आफ्नै खल्तीबाट उम्मेदवार छानेर टुंगो लगाएको भन्दै आपत्ति जनाएका हुन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने,‘केन्द्रीय कार्यसम्पादन समितिबाट नाम पारित हुनै बाँकी छ तर उम्मेदवारहरू मनोनयनपत्र बोकेर गइसक्नुभएको छ। यसरी राष्ट्रियसभाका उम्मेदवार चयन गर्दा केन्द्रीय समिति र संसदीय बोर्डको मानमर्दन गरिएको छ।’
महामन्त्री थापाले नेकपा एमालेसँगको तालमेल प्रक्रियामाथि पनि प्रश्न उठाए। ‘नेपाली कांग्रेस र एमाले दुवैका गोजीका मान्छे राख्न क्लस्टरको भागबन्डा गरिएको छ। क्लस्टर तोकेर नाम मिलाइएको छ,’ उनले भने।
थापाका अनुसार कांग्रेसले राष्ट्रियसभातर्फ उम्मेदवार बनाएका ९ जनामध्ये ३ जना पार्टीका कुनै पनि कमिटीबाट सिफारिसमा नपरेका हुन्। साथै उम्मेदवार छनोटमा जनजाति र मुस्लिम समुदायबाट एक जनासमेत नसमेटिएकोप्रति उनले असन्तुष्टि जनाए।
‘नेताहरूको खल्तीको मान्छे सिफारिस गरियो। व्यक्तिगत सम्बन्धका आधारमा निर्णय भयो,’ थापाले भने, ‘मैले यसबारे फरक मत दर्ज गरेको छु। कांग्रेसभित्र प्रक्रिया र विधान मिचिँदै जाँदा आजको अवस्था आएको हो। म र अर्का महामन्त्री विश्वप्रकाश शर्माको भूमिकालाई कर्नर गरिएको छ, घेराबन्दी गरिएको छ।’
बैठकमा आफूले स्पष्ट रूपमा कुरा राखेको उनले बताए। थापाले भने, ‘यहाँको घेरा सानो छ,समर्थक र शुभेच्छुकको घेरा ठूलो छ। संख्याका आधारमा गरिने घेराबन्दीले मलाई व्यक्तिगत रूपमा केही फरक पर्दैन।’
महामन्त्री थापाले एमालेसँगको तालमेलको साटो नेपाली कम्युनिस्ट पार्टीसँग तालमेल भएको भए १५ सिटसम्म जित्न सकिने टिप्पणी पनि गरे। ‘हिजो बैठकमा संविधान र देश ठूलो, सिट ठूलो होइन भनियो। तर आज एक सिटमा कुरा नमिल्दा संविधानभन्दा सिट ठूलो बनाइयो,’ उनले भने।
राष्ट्रियसभा निर्वाचनका लागि आज सातवटै प्रदेशमा १८ जना सांसद चयनका लागि उम्मेदवारी दर्ता हुँदैछ। कांग्रेस, एमाले र जसपा नेपालबीच क्रमशः ९, ८ र १ सिटमा भागबन्डा गर्ने सहमति भएको छ।



