काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन पक्षबाट कारबाहीमा परेका विश्वप्रकाश शर्माले पार्टी र देशलाई बदल्न सक्ने दह्रो नेता गगन थापा मात्रै भएको बताएका छन्।
बुधबार भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै शर्माले कांग्रेसको नेतृत्व गगनले नै गर्नुपर्ने बताका हुन्। ‘हामी प्रतिबद्ध छौं, कांग्रेसलाई नेतृत्व गर्न सक्ने र देशलाई बदल्न सक्ने सक्षम व्यक्ति गगन थापा हुन्। यहाँ अलमलिनुपर्ने कुनै कारण छैन,’ उनले भने।
आफू कारबाहीबाट नआत्तिएको बताउँदै शर्माले राजनीतिमा यस्ता घटना स्वाभाविक हुने बताए। ‘हामी कारबाहीमा परेका छौं भनेर आत्तिएका छैनौं। राजनीतिमा यस्तो हुन्छ, यसलाई स्वाभाविक रूपमा लिनुपर्छ,’ उनले भने।
शर्माले महामन्त्री पद आफूले नै त्यागिसकेको बताए। शर्माले आज बिहानै महामन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदै निष्कासनको अर्थ नरहने बताए। ‘केन्द्रीय समितिले कारबाही गरेको भन्ने सुनेँ। जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दसँग जोडिनुपर्यो,’ उनले भने, ‘बदलिएको समयअनुसार कांग्रेस चलाउनुपर्छ भन्दा कारबाहीमा परिँदो रहेछ।’
शर्माले आफू महामन्त्री पदबाट हटिसकेकाले आजै उक्त पदका लागि युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गराइसकेको पनि जानकारी दिए। ‘एकजना साथीले फोन गरेर दाइ, कारबाहीमा पर्नुभयो भनेर भन्नुभयो। मैले भनेँ- महामन्त्री त मैले बिहानै छोडिसकेको छु,’ शर्माको भनाइ थियो।



