काठमाडौँ- नेपाली सेनाका पूर्वउपरथी (मेजर जनरल) बाबुराम श्रेष्ठ सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। ३७ वर्ष लामो सैनिक सेवाबाट ०८१ कात्तिक १ गते अवकाश पाएका श्रेष्ठ आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध भएका हुन्। पार्टी कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा प्रलोपाका संरक्षक डा.बाबुराम भट्टराई, केन्द्रीय सदस्य जनार्दन शर्मा, अध्यक्ष सन्तोष परियार, ओजस्वी भट्टराईलगायतले उनलाई पार्टीमा स्वागत गरे। श्रेष्ठसहित दर्जन बढी जेनजी युवा पनि प्रलोपा प्रवेश गरे।
गोरखाको सिरान्चोक गाउँपालिका-८, जौबारीमा जन्मिएका श्रेष्ठले २०३९ सालमा परोपकार आदर्श माध्यमिक विद्यालयबाट प्रथम श्रेणीसहित प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए। प्रवेशिका परीक्षा दिएपछि उनले तत्कालीन हिमालय निम्न माध्यमिक विद्यालय, सौरपानीमा केही समय गणित विषय अध्यापनसमेत गरेका थिए। त्यसपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङ विषयमा प्रवीणता प्रमाणपत्र तह प्रथम श्रेणीमा उत्तीर्ण गरेका श्रेष्ठ २०४३ सालमा नेपाली सेनामा सहायक सेनानी पदका लागि भएको प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका थिए।
सेनामा छँदा उनले गुल्मपति, गणपति, बाहिनीपति, पृतनापति, कमाण्ड सेनापति, शिक्षक तथा शिक्षाध्यक्षलगायत विभिन्न जिम्मेवारी सम्हाले। सैनिक सेवाकै क्रममा उनले नीति निर्माण, योजना तर्जुमा तथा विपद् व्यवस्थापन क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरे।
भारतको कलेज अफ मिलिटरी इन्जिनियरिङ, पुणेबाट विशिष्ट श्रेणी (डिस्टिन्सन) सहित सिभिल इन्जिनियरिङमा स्नातक गरेका श्रेष्ठले भारतबाट प्रतिरक्षा तथा सामरिक अध्ययन, पाकिस्तानबाट राष्ट्रिय सुरक्षा तथा युद्ध अध्ययन र त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन संयुक्त कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमै द्वन्द्व, शान्ति र विकास विषयमा एमफिल-पीएचडी अध्ययनरत छन्।
सैनिक जीवनका क्रममा श्रेष्ठले अमेरिका, चीन, भारत, पाकिस्तान, बंगलादेश, कम्बोडिया, फिजी लगायतका देशमा तालिम तथा शान्ति मिसनमा कमाण्डर र प्रशिक्षकका रूपमा कार्य गरेका छन्। स्वदेशमा त्रिशूली-सोमदाङ, बेनी-जोमसोम र कटारी-ओखलढुंगा जस्ता पहाडी सडक निर्माण परियोजनामा करिब आठ वर्ष काम गर्दै पूर्वाधार विकासमा योगदान पुर्याएका उनको अनुभव तराई, पहाड र हिमालका विभिन्न भूगोलसँग जोडिएको छ।
पार्टी प्रवेश कार्यक्रममा श्रेष्ठले देशको वर्तमान राजनीतिक अवस्था, नयाँ पुस्ताको आन्दोलन र त्यागले आफूलाई राजनीतिमा आउन प्रेरित गरेको बताए। ‘देशको राजनीतिक अवस्था सामान्य भएको भए म सरकारले दिएको पेन्सन खाएर बस्ने थिएँ,’ उनले भने,‘तर अहिलेको विषम परिस्थितिले मेरो सोच बदलिदियो। राजनीतिक विकृति अन्त्य गर्न र आवाजविहीनहरूको आवाज बन्न म अघि सरेको हुँ।’
उनले सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणका लागि राजनीति नै उपयुक्त मञ्च भएको बताउँदै शिक्षा, वातावरण, विपद् व्यवस्थापन, सुरक्षा, पूर्वाधार, भूराजनीति, पर्यटन र खेलकुद क्षेत्रमा आफ्नो अनुभव उपयोग गर्ने प्रतिबद्धता जनाए। सिभिल इन्जिनियरको हैसियतले विकास आयोजनाको सम्भाव्यता अध्ययनदेखि डिजाइन, लागत यकिन र अनुगमनसम्म योगदान दिन सक्ने उनको भनाइ छ।
प्रलोपाले श्रेष्ठलाई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको पार्टीका एक नेताले हिमालप्रेसलाई जानकारी दिए। सोही क्षेत्रबाट लगातार तीन पटक चुनाव जितेका प्रलोपा संरक्षक डा.बाबुराम भट्टराईले चुनाव नलड्ने बताइसकेका छन्।



