काठमाडौँ – योगमाया आर्युवेद विश्व विद्यालयको काममा विदेशमा रहेकै समयमा डा. अर्जुनकुमार कार्कीलाई नेकपा (एमाले) ले संखुवासभा जिल्लाबाट उम्मेदवार बनाएपछि नेपाल फर्केर आजै संखुवासभा पुगेका छन्।
कार्की विश्वका कम विकसित देशहरूको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर एडभोकेसी गर्दै आएका व्यक्ति हुन्। उनी विकास, कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा लामो समयदेखि सक्रिय छन्।
२०६२/०६३ को आन्दोलनमा राजनीतिक दलहरुलाई विशेष सहयोग गर्ने र अन्तर्राष्ट्रिय परिवेश मिलाउने कार्यमा समेत लागेका उनी त्यसयता अन्तर्राष्ट्रिय मञ्चहरुमा नै नेपालबाट सक्रिय हुँदै आएका थिए। अहिले पनि उनी अन्तर्राष्ट्रिय मञ्चमा चिनिने नेपाली हुन्। राष्ट्रसंघको मञ्चमा समेत उनी राम्रै पहुँच राख्छन्।
संखुवासभामा स्कुलको अध्ययन गरेर त्यसपछि चितवनमा कृषि अध्ययनमा स्नातक गरेर अर्थशास्त्रमा बेलायतबाट स्नाकोत्तरलगत्तै शिष्टाचार एवं अर्थकूटनीति पनि बेलायतको मेनचेस्टमा रहेर विद्यावारिधी गरेका डा. कार्की नेपालमा आरआरएन नामक गैरसरकारी संस्था र ब्रसेल्समा एलडीसी वाच नामक संस्था समेत चलाउँछन्। उनले यो क्षेत्रमात्र होइन अफ्रिकी मुलुकको विकासमा समेत त्यहाँबाट काम गरिरहेका छन्।
उनी खासगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको महासचिव हुन खोजेका थिए त्यसमा तत्कालिन खिलराज रेग्मी नेतृत्व सरकारले बाइडिफल्ट भन्दै अर्कैलाई नियुक्त गरेपछि उनी आफ्नै संस्थामा सक्रिय थिए। तर पछि सबैले उनी जत्तिको व्यक्ति भारत वा अमेरिकामा राजदूत हुनपर्ने भन्ने महसुस गरेर उनलाई सुशील कोइराला सरकारमा रहँदा एमालेको प्रस्तावमा कांग्रेसको सहमतिमा अमेरिकाका लागि राजदूत नियुक्त गरेका थिए।
उनले संसदीय सुनुवाईमा नै रहरभन्दा पनि सबैको चाहनामा आफू राजदूत सिफारिस भएर गए दुई देशीय सम्बन्ध विस्तारमा सरकारको निर्देशनअनुरुप काम गर्ने छोटो प्रस्तुति दिएका थिए। उनी लामो समय अमेरिकामा राजदूत रहे। परराष्ट्र कर्मचारीले असहयोग गर्दा पनि उनले अमेरिकामा राजदूत निवास किने। पुरानो निवासमा दूतावास सारे भने दूतावास रहेको भवनमा कन्सुलरको काम गर्ने र तीन अधिकारी त्यही बस्ने व्यवस्था गरे।
उनलाई परराष्ट्र कर्मचारीले न्यूयोर्कमा हुने राष्ट्रसंघीय महासभामा सहभागी हुन समेत नबोलाउने गर्दा उनी राष्ट्रसंघकै विशेष निमन्त्रणामा त्यहाँ पुगेर राजनीतिक नेतृत्वसमक्ष कर्मचारीको बदमासीलाई उनीहरुको अगाडि राखिदिन्थे। राजदूत रहँदा उनले त्यहाँ राम्रै काम गरेका थिए। अमेरिकी सहयोग नेपाल भित्र्याउने मात्र होइन, एनसेलको कर मुद्दालाई अन्तर्राष्ट्रिय कोटमा लगेर राज्यको तर्फबाट राम्रा वकिल राखेर अर्बौँ रुपैयाँ बचाउने काम उनले गरे।
गत वर्ष मात्र उनले योगमाया आयुर्वेद विश्वविद्यालयको परिकल्पना गर्दै गतवर्ष केन्द्रीय कार्यालय संखुवासभामा नै स्थापना गराएका थिए। त्यहाँ उनले नेपालका मात्रै नभइ विश्वभरका विद्यार्थीले त्यहाँ पुगेर इन्जिजियरिङ, वन, विज्ञान र आयुर्वेद पढ्न सम्ने केन्द्रको रुपमा विकास गर्ने गरी पाठ्यक्रम बनाउनेदेखि त्यसको पूर्वाधार तयर गर्ने काम गरिरहेका थिए। उनी उक्त विश्वविद्यालय परिषद्का अध्यक्ष पनि हुन्।
उनी अमेरिकाको राजदूत हुँदा परराष्ट्रमन्त्री पुग्दा त्यहाँको विदेश मन्त्रीलाई भेटाईदिने हैसियत राख्थे। तत्कालीन परराष्ट्रमन्त्री कमल थापा न्यूयोर्क जाँदा उनले डीसी बोलाएर सहजै तत्कालिन विदेशमन्त्री जोन केरीलाई भेटाएका थिए।
उनै पूर्वराजदूत कार्की यतिबेला एमालेबाट संखुवासभामा सांसदको लागि उम्मेदवारी दिनेछन्। उनलाई संखुवासभामा सयौँ शुभचिन्तकहरुले स्वागत गरेका छन्। सबैको साझा उम्मेदवार भन्दै उनलाई एअरपोर्टमा संखुवासभाको ‘रत्न’ भन्दै स्वागत गरेका थिए।
यसअघि उक्त क्षेत्रमा राजेन्द्र गौतमले टिकट पाउँदै आएका थिए। गौतमले २०७४ को चुनावमा जितेका थिए। २०७९ को चुनावमा गौतम पराजित भएका थिए। अहिले उक्त क्षेत्रमा कार्की उम्मेदवार बनेका हुन्।



