कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाका अति विपन्न ३०६ बालबालिकालाई जाडोबाट बच्न न्यानो लुगालगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यालयको सिफारिसमा ‘सेभ द् चिल्ड्रेन’ सुर्खेतले नगरपालिकाका विभिन्न वडाका बालबालिकालाई सामग्री उपलब्ध गराएको हो।
नगरपालिकाका १२ वडामध्ये आठ वडाका अति विपन्न परिवारका बालबालिकालाई छनोट गरी उनीहरू अध्ययनरत विद्यालयमै पुगेर सामग्री वितरण गरिएको हो।
बालबालिकालाई जाडोबाट जोगिन ज्याकेट, स्विटर, ट्राउजर, थर्मस, झोला, टोपी, स्कार्फ, पञ्जा, मोजा, गलबन्दीलगायत सामग्री वितरण गरिएको हो।
नगर उपप्रमुख कल्पना पन्तका अनुसार, वडा नं १ मा ४०, वडा नं २ मा २७, वडा नं ३ मा ४०, वडा नं ५ मा ११, वडा नं ६ मा ३०, वडा नं ७ मा ४०, वडा नं ११ मा ७४ र वडा नं १२ मा ४० बालबालिकालाई सामग्री वितरण गरिएको छ।
सामग्री वितरण कार्यक्रममा नगर उपप्रमुख पन्तले बढ्दो शीतलहर र चिसोबाट बालबालिकालाई जोगाउन यो सहयोग महत्वपूर्ण भएको बताइन्।
सिद्धभीम आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले चिसोका कारण विद्यार्थीले बीचमै विद्यालय छाड्ने गरेकामा यो सहयोगले यसलाई कम गर्ने विश्वास व्यक्त गरे।



