निर्वाचन सुरक्षा सरकारको उच्च प्राथमिकतामा : गृहमन्त्री

हिमाल प्रेस १५ माघ २०८२ १७:२९ | Thursday, January 29, 2026
18
SHARES
निर्वाचन सुरक्षा सरकारको उच्च प्राथमिकतामा : गृहमन्त्री गृहमन्त्री ओमप्रकाश अर्याल। फाइल तस्बिर।

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको बताएका छन्।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे भइरहेको गतिविधिका बारेमा जानकारी लिन आज निर्वाचन आयोग पुगेका उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए।

मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकार भएका सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको गृहमन्त्री अर्यालले जानकारी गराए। यसका लागि मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी सुरक्षा योजना बनाई काम गरिरहेको उनको भनाइ छ।

‘आपराधिक तथा निर्वाचन बिरोधी गतिविधि उपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिइसकिएको छ,’ उनले भने।

छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीका क्रममा सरकारबाट प्राप्त सहयोग र समन्वयप्रति धन्यवाद व्यक्त गर्दै निर्वाचन व्यवस्थापनका क्रममा आयोगका तर्फबाट गरिनुपर्ने व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी गराए।

निर्वाचन व्यवस्थापनका क्रममा संविधान, निर्वाचनसम्बन्धी कानुन, निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि गतिविधि एवम् क्रियाकलापप्रति आयोग कठोर रुपमा प्रस्तुत हुने उनले बताए।

कुनै पनि पक्षबाट हुने दण्डहीनता आयोगलाई मान्य नहुने पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ थियो ।

छलफलमा निर्वाचन आयुक्तद्वय सगुनशमशेर जबरा र डा.जानकीकुमारी तुलाधर, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

भेटमा अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई, निष्पक्ष, पारदर्शी एवम् भयमुक्त वातावरणमा सम्पन्न गराउन समग्र शान्तिसुरक्षा र निर्वाचनको समय व्यवस्थापनको तयारीका बारेमा पनि छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रकाशित: १५ माघ २०८२ १७:२९ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast