नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध जनाएको छ। निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट विभिन्न प्रश्न उठाइरहेको सन्दर्भमा निर्वाचनको भित्री घेरामा रही सुरक्षा प्रदान गर्ने मुख्य जिम्मेवारीमा रहेको नेपाल प्रहरीले निर्वाचन सुरक्षाका बारेमा विश्वस्त रहन आग्रह गरेको छ। निर्वाचन सुरक्षा,फरार अपराधी र लुटिएका हतियार पक्राउ र प्रहरीको मनोबललगायत विषयमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेसँग गरिएको कुराकानी:
मुलुक निर्वाचनमा होमिइसकेको छ,निर्वाचन आउन दुई महिनाभन्दा कम समय बाँकी छ। मुलुकको समग्र सुरक्षा अवस्था कस्तो छ?
सुरक्षा व्यवस्था मजबुत छ। भरपर्दो सुरक्षा प्रबन्ध गरिएको छ। प्रहरीको सबै युनिट सशक्त ढंगबाट परिचालित छन्। निर्वाचन लक्षित सुरक्षा गतिविधि सुरु भएका छन्। केन्द्र, प्रदेश तथा जिल्लास्तरसम्म निर्वाचन सेल गठन गरी प्रत्येक निर्वाचन सेलमा ‘फेकल पर्सन’ तोकी कार्यसम्पादन भइरहेको छ। निर्वाचनको वातावरण बनाउन मातहतका युनिटलाई निर्वाचन लक्षित गस्ती/पेट्रोलिङ,पिकेट,चेकिङलगायत कार्यमा प्रहरी परिचालन गरिएको छ। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी कार्यालयको पुनःनिर्माण एवं सवारी साधनको व्यवस्थापनको कार्यलाई तीव्रता दिई पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रयास गरिएको छ। सीमा क्षेत्रमा हुने घुसपैठ र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न नियमित अनुगमन र गस्ती गरिएको छ।
फरक परिस्थितिमा हुन गइरहेको निर्वाचनमा विभिन्न पाटोबाट सुरक्षा चुनौती औँल्याइएको छ। यसलाई प्रहरी संगठनले कसरी लिएको छ?
निर्वाचनको समय नजिकिँदै गर्दा जेनजी युवा समूह, पुराना तथा नयाँ राजनीतिक दलबीचको मदभेद र अन्तरद्वन्द्व बढ्न सक्छ। आन्दोलनपछिका राजनीतिक विभाजन र असहमतिका कारण विभिन्न पार्टी वा समूहले निर्वाचनलाई बहिष्कार वा अवरोध गर्नसक्ने सम्भावनाका साथै मतदाता, उम्मेदवार र निर्वाचन कर्मचारीलाई धम्की वा हिंसालाई सुरक्षा चुनौतीका रुपमा हेरिएको छ। निर्वाचन विरोधी समूहबाट हुनसक्ने गतिविधिलगायत जातीय, धार्मिक र साम्प्रदायिक समूहबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप, सामाजिक सञ्जालबाट प्रवाह हुने गलत सूचनाले पार्ने प्रभावलाई पनि सुरक्षा संगठनले चुनौतीका रुपमा लिएको छ। दुर्गम, विकट तथा हिमाली क्षेत्र र प्रतिकूल मौसमबाट सिर्जित हुने अवस्थाले पनि चुनौती थप्न सक्ने अनुमान छ। अहिलेसम्म समग्र रुपमा गम्भीर सुरक्षा चुनौती सामना गर्न परेको छैन। दैनिक सुरक्षा व्यवस्थापनका काम भइरहेको छ। यसका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र मातहतका सबै युनिटसम्म सुरक्षा चुनौतीको पहिचान गर्ने र सोबमोजिम खतराको विश्लेषण गरेर योजना बनाउनेसम्मका काम भइरहेको छ। निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना तयार छ। सोही आधारमा निर्वाचन लक्षित जिल्लास्तरका सुरक्षा योजना बनाइ कार्यान्वयन भइरहेको छ।
जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र कारागारबाट फरार कैदीका कारण सुरक्षा चुनौती रहेको भनिएको छ। यसलाई प्रहरीले कसरी हेरेको छ?
लुटिएका हतियार फिर्ता ल्याउन र कैदी एवं थुनुवालाई फर्काउन प्रहरी संगठनले सम्पूर्ण प्रहरी जनशक्तिलाई परिचालित गरिसकेको छ। सुरक्षा संगठनबीच एकीकृत र एकल रुपमा सम्पूर्ण संयन्त्रलाई यसै विषयमा केन्द्रित गरिएको छ। फरार अपराधी पक्राउ गर्ने, लुटिएका र हराएका हातहतियार बरामद गर्न नेपाल प्रहरीले विशेष अभियान नै सञ्चालन गरेको छ। दैनिकजसो फरार अपराधी, कैदीबन्दी र थुनुवा पक्राउ परिरहेका छन्। सूचना संकलन र संकेत ‘एरिया’मा विशेष खनतलासी गर्ने काम भइरहेको छ। अधिकांश अपराधी र हातहतियार नियन्त्रणमा आइसकेका छन्।
जेनजी आन्दोलनका क्रममा प्रहरीका अधिकांश भौतिक संरचना निशानामा परे। पुनःनिर्माणमा नागरिक तहबाट कस्तो सहयोग रह्यो?
आन्दोलनका क्रममा जुन भौतिक क्षति भयो। त्यसपश्चात् पुनर्निर्माणमा नागरिक र प्रहरी संगठनबीच घनिष्ठ सहकार्य रह्यो। पुनःनिमाणका क्रममा नेपाल प्रहरी संगठनले कमाएको जनविश्वास स्पष्ट देखियो। नागरिकहरु एकजुट भई त्यस्तो गम्भीर परिस्थितिबाट सहजरुपमा भौतिक संरचना पुनर्निर्माण गरिसकेका छौँ। आन्दोलनका क्रममा एक सय ४३ भवन पूर्ण र तीन सय १६ आंशिक गरी चार सय ५९ युनिटमा क्षति पुगेकामा अहिलेसम्म चार सय ४९ युनिट पुनःनिर्माण भई सञ्चालनमा आइसकेको छ। यसमा नागरिक सहकार्य र सहयोग अतुलनीय छ। सहयोगी मनप्रति प्रहरी संगठन सम्मान प्रकट गर्दछ। नागरिककै लागि प्रहरी अहोरात्र खटिइएको छ। नागरिक सुरक्षाका लागि नेपाल प्रहरीको स्थापना भएको हो। कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा अपराधको सफल अनुसन्धान गर्ने सन्दर्भमा प्रहरी सदा अगाडि छ। यो नै नागरिकको प्रहरीप्रतिको जनविश्वासको आधारस्तम्भ हो।
पछिल्लो समय प्रहरीको मनोबल खस्केको भन्ने टिप्पणी भइरहेको छ? यसलाई संगठनले कसरी लिएको छ?
प्रहरीको मनोबल उच्च छ। यो खस्केको कहिल्यै पनि थिएन र हुने पनि छैन। जेनजी आन्दोलनपश्चात् प्रहरीको मनोबलका विषयमा धेरै टीकाटिप्पणी भए। हामीलाई ठूलो जनविश्वास प्राप्त भएको छ। नागरिकसँगको सहकार्यबाटै क्षतिग्रस्त भवनहरु पुनर्निर्माण गर्न सफल भएका छौँ। हाम्रा हरेक गतिविधि र क्रियाकलापमा आमनागरिकको साथ र सहयोग छ। नयाँ संगठन प्रमुख आइसकेपछि आबद्ध प्रहरी कर्मचारीले प्राप्त गर्ने सेवा, सुविधा र सहुलियतमा पनि पहिलो प्राथमिकता राखेर विभिन्न कल्याणकारी योजना अघि सारिएको छ। कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरी कर्मचारीको परिवारलाई क्षतिपूर्ति, आर्थिक सहयोग र आश्रित परिवारलाई रोजगारीको प्रबन्ध गरिएको छ। घाइते प्रहरी कर्मचारीलाई उपचार खर्च, अन्य सेवासुविधालाई पनि उच्च प्राथमिकता दिइएको छ। नेपाल प्रहरीसँग विगतका चुनौतीपूर्ण अवस्थामा पनि निर्वाचनलाई सफल बनाएको अनुभव छ। त्यो अनुभव, सीप, ज्ञान र तालिमलाई यसपटकका निर्वाचनमा पूर्णरुपमा प्रयोग गरेर चुनावलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउछौँ। नेपाल प्राप्त जिम्मेवारी पूरा गर्न अहोरात्र खटिइएको छ।
हरेक निर्वाचन छोटो समयका लागि ‘निर्वाचन प्रहरी’ पनि भर्ना गर्ने गरिएको छ। यसपटक निर्वाचन प्रहरी भर्नाको प्रक्रिया कसरी अघि बढ्दैछ?
निर्वाचनमा ७७ हजार प्रहरी परिचालित हुनेछन्। नेपाल प्रहरीको विद्यमान जनशक्तिले मात्रै निर्वाचन व्यवस्थापनमा अपुग हुने भएकाले ‘निर्वाचन प्रहरी’ भर्ना गर्ने गरिएको छ। एक लाख ३३ हजार नौ सय ८० निर्वाचन प्रहरी (म्यादी) भर्ना गर्न प्रस्ताव गरिएको छ। निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि, २०८२ को स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ। सोहीबमोजिम भर्ना प्रक्रिया सुरु हुनेछ। त्यसलगत्तै तालिम सुरु गरिनेछ। तालिम समापनपछि सम्बन्धित निर्वाचन क्षेत्रमा उहाँहरुलाई खटाउँछौँ। भर्ना छनोटका आधार तयार भइसकेको छ। २०७९ र २०७४ को निर्वाचनमा खटिइएका ‘म्यादी प्रहरी’ लाई छनोटमा प्राथमिकता दिइनेछ। त्यसैगरी पूर्वसुरक्षाकर्मी र पूर्ववन रक्षक, सुरक्षा निकायमा भर्ना हुनका लागि आधारभूत शारीरिक परीक्षा र स्वास्थ्य परीक्षण उत्तीर्ण भएकालाई पनि भर्ना लिइनेछ। फौजदारी अभियोग नलागेका, नैतिकवान्, १८ देखि ५४ वर्षसम्मका व्यक्तिलाई भर्ना प्रक्रियामा सहभागी गराउन प्रस्ताव गरिएको छ। निर्वाचन प्रहरीले नेपाल प्रहरीको जस्तै निर्वाचनलाई सफल बनाउन,यससँग सम्बन्धित हरेक गतिविधिमा भित्री घेरामै रहेर काम गर्नुपर्नेछ। तालिमका क्रममा उनीहरुलाई त्यससम्बन्धी आधारभूत काम, कर्तव्यका बारेमा जानकारी दिइनेछ।
मतदातालाई निर्वाचनको समयमा सुरक्षाको प्रत्याभूति कसरी दिलाउनुहुन्छ?
निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरुपमा वर्गीकरण गरिएको छ। दुई हजार आठ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार चार सय ४२ मतदानस्थललाई संवेदशील र तीन हजार छ सय ८० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा हेरिएको छ। सोहीअनुसार नियमितरुपमा प्रहरी परिचालन गरी त्यहाँको सुरक्षा व्यवस्था मजबुद बनाउने काम भइसकेको छ। भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी संगठन कटिबद्ध छ। सम्पूर्ण मतदाता, आमनागरिक र राजनीतिक दलको सुरक्षाका लागि प्रहरी तयार छ। शान्ति सुरक्षाको विषयलाई लिएर कसैले डर र त्रास मान्नुपर्ने अवस्था छैन। पूर्णरुपमा शान्ति, सुव्यवस्था र अमनचयन काम गराइसकेका छौँ । कानुन पालना गराउन नेपाल प्रहरी सदैव दत्तचित्त भएर खटिइएकै छ। रासस



