मागअनुसार आवेदन नपरेपछि निर्वाचन प्रहरी भर्नाको म्याद थप

हिमाल प्रेस २ माघ २०८२ ८:३८
16
SHARES
मागअनुसार आवेदन नपरेपछि निर्वाचन प्रहरी भर्नाको म्याद थप

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ निर्वाचन प्रहरी भर्नाका लागि मागअनुसार आवेदन नआएका डेढ दर्जन जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले आवेदनको समय थप गरेका छन्। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कम आवेदन परेपछि शनिबारसम्म म्याद थप गरिएको सुरक्षा निकायले जनाएका छन्।

दुवै प्रहरी संगठनले आ-आफ्नो जिल्लास्थित कार्यालयबाट २५ पुसमा निर्वाचन प्रहरी भर्ना खुलाएका थिए। एक साताको समय तोकिएकामा करिब २ लाखको आवेदन परेको थियो।

अधिकांश जिल्लामा मागभन्दा बढी आवेदन परेको छ। तर भर्नासम्बन्धी मापदण्डमा नपरेर कतिपय आवेदक छनोट चरणबाटै बाहिरिन्छन्। २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा परिचालन गर्न नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी छ।

मंसिर २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाइएकामा दोब्बर अर्थात् २ लाख ३२ हजार ८८ जनाको दरखास्त परेको थियो।

वैशाख २०७९ को स्थानीय तह निर्वाचन सुरक्षामा पनि करिब १ लाख म्यादी प्रहरीको आवेदन खुलाउँदा तेब्बर अर्थात् करिब ३ लाखको दरखास्त परेको थियो। ‘यो पटक पहिलेभन्दा बढी आवेदन माग गरियो तर कम आवेदन पत्यो,’ प्रहरीका एक एसएसपीले भने।

प्रहरीका अनुसार निर्वाचन प्रहरीमा पूर्वम्यादी प्रहरी, पूर्वसुरक्षाकर्मी र वन रक्षकसमेत छन्। आसन्न निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्न केन्द्रीय सुरक्षा समिति बैठकले स्वीकृति दिइसकेको छ। जसअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ लाख ८८ हजार जनशक्ति परिचालित हुदै छन्।

यसबाहेक ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख निर्वाचन प्रहरी खटाउने तयारी छ। निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान र लत्ताकपडा तथा जवानसरहको रासन भत्ता पाउनेछन्। ‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि-२०६२ अनुसार एक निर्वाचन प्रहरीलाई

दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलब र जिल्ला दर निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक-फरक पाउँछन्।

निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रतिव्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइने उल्लेख छ।

यसरी दिइने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइनेछ। निर्वाचनमा खटिने यो जनशक्ति कर्तव्य पालनाका क्रममा घाइते भए घाइते स्वयंलाई र मृत्यु भए नजिकको हकवालालाई सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम उपलब्ध गराइनेछ। कुनै कारणले निर्वाचन रद्द भए वा स्थगित भए तालिममा रहेको भए पनि नियुक्ति स्वतः रद्द /बदर हुने कार्यविधिमा उल्लेख छ।

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिसकेको छ। निर्वाचनमा भित्री घेरा प्रहरी र निर्वाचन प्रहरी, त्यसपछि जोखिमका आधारमा सशस्त्र प्रहरी र बाहिरी सुरक्षा व्यवस्थापनमा सेना खटाउने तयारी छ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन प्रहरी भर्ना छनोट समिति बनाइएको छ। भर्ना हुन दरखास्त गर्न पाउने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड छ।

साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारीरिक र मानसिक रूपमा स्वस्थ, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नभएको, नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ।

पुरुषको हकमा कम्तीमा ५ फिट उचाइ, छातीको चौडा ३१ देखि ३३ इन्च, ५० केजी तौल तथा महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाइ, ४२ केजी तौल र गर्भवती नभएको/नरहेको हुनुपर्ने मापदण्ड छ। छनोट भएका निर्वाचन प्रहरीलाई १० दिन तालिम र ३० दिन फिल्डमा खटाउने गरी भर्ना गर्न लागिएको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रकाशित: २ माघ २०८२ ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast