म्याग्दी- धवलागिरि गाउँपालिका-७ ताकममा एक जना किसानले एक रोपनीभन्दा कम जमिनमा प्याजको बेर्ना उत्पादन गरेर दुई महिनामै रु एक लाखभन्दा बढी आम्दानी गरेका छन्।
ताकमको आचार्य कृषि फार्मका सञ्चालक पद्माकुमारी आचार्यले उत्पादन गरेको प्याजको बेर्ना धवलागिरि र मालिका गाउँपालिकाका साथै पोखरासम्म बिक्री भएको हो।
गत कात्तिक दोस्रो साता ६ किलोग्राम प्याजको बीउ जमाएकी आचार्यले पुस दोस्रो हप्तासम्म रु एक लाखको बिरुबा बिक्री भएको बताइन्।
‘पहिलो चरणमा उत्पादन गरेको बेर्ना बिक्री हुने अन्तिम चरणमा छ, माघमा लगाउनका लागि बेर्नाको माग आएपछि थप बीउ जमाएको छु’, उनले भनिन्,‘एक रोपनी क्षेत्रफल बारीमा उमारेको प्याजको बेर्नाबाट दुई महिनामै रु एक लाखको बेर्ना बिक्री भयो।’
रु २५ हजार लगानी गरेकी आचार्यले सबै बेर्ना बिक्री गरिसक्दा करिब रु एक लाख ५० हजार आम्दानी हुने अनुमान गरेकी छन्। आचार्यले पछिल्लो तीन वर्षयता प्याजको बेर्ना उत्पादन गर्दै आएकी छन्।



