निर्वाचन देखाएर निर्माणका काम नरोक्नुस् : मुख्यमन्त्री कँडेल

हिमाल प्रेस ७ माघ २०८२ १६:४० | Wednesday, January 21, 2026
26
SHARES
निर्वाचन देखाएर निर्माणका काम नरोक्नुस् : मुख्यमन्त्री कँडेल

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्। कर्णाली प्रदेश सरकारअन्तर्गतका मन्त्रालयहरूको आज (बुधबार) देखि सुरु भएको अर्ध वार्षिक समीक्षा कार्यक्रममा उनले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुने बताएका हुन्।

उनले मन्त्रालयअन्तर्गतका कामहरूको समय तालिका निर्माण भए पनि तालिकाअनुसार काम नभएकोमा असन्तुष्टि व्यक्त गरे। उनले कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलता परिणामसहित देखिने गरी काम गर्न निर्देशन दिएका छन्।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताए। उनले समयमै खर्च र लक्ष्यअनुसार प्रगति हासिल गर्न मन्त्रालय तथा मातहतका कार्यालयबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।

कार्यक्रममा प्रमुख सचिव विरेन्द्रकुमार यादव, अर्थ सचिव, ऊर्जा सचिव तथा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति थियो। कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो।

प्रकाशित: ७ माघ २०८२ १६:४० | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast